काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसबाट चीनमा ज्यान जाने क्रममा ब्रेक लागेको छ।

पछिल्लो २४ घन्टाको अवधिमा एकजनाको पनि कोरोनाभाइरसको संक्रमणबाट ज्यान नगएको पछिल्लो तीन महिनाको अवधिमा यो पहिलोपटक हो। गत डिसेम्बरको अन्तिम साताबाट चीनको वुहान सहरबाट देखिएको यो भाइरसबाट हरेक दिन संक्रमितहरुले ज्यान गुमाउँदै आएका थिए। 

पछिल्लो २४ घन्टाको अवधिमा ३२ जना नयाँ संक्रमित भने फेला परेको समाचार एन्जेसी एएफपीले जनाएको छ। 

कोरोनाको संक्रमणबाट हालसम्म चीनमा ३ हजार ३०० जनाको ज्यान गइसकेको छ भने ८१ हजार ७४० जना संक्रमित छन्। 

हालसम्म विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७४ हजार ६५४ पुगेको छ भने कुल संक्रमितको संख्या १३ लाख ४६ हजार माथि पुगेको छ। 

पछिल्लो २४ घन्टामा अमेरिकामा १२५५ संक्रमितको मृत्यु भएको छ। योसँगै अमेरिकामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८७१ पुगेको छ। अमेरिकामा ३० हजार ३३१ नयाँ संक्रमित थपिएका छन्। योसँगै अब अमेरिकामा कुल संक्रमितको संख्या ३ लाख ६७ हजार भन्दा बढी पुगेको छ। 

अमेरिकामा संक्रमितमध्ये ९ हजार हाराहारीको अवस्था गम्भीर रहेको छ। 

फ्रान्समा पनि बितेको २४ घन्टाको अवधिमा ८३३ संक्रमितले ज्यान गुमाएका छन्। योसहित फ्रान्समा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार ९११ पुगेको छ। त्यहाँ कुल संक्रमितको संख्या १ लाख नजिक पुगेको छ। 

स्पेनमा ७०० र इटलीमा ६३६ संक्रमितको मृत्यु भएको छ। योसँगै स्पेनमा मृतकको संख्या १३ हजार ३४१ र इटलीमा १६ हजार ५२३ पुगेको छ। स्पेनमा कुल संक्रमितको संख्या १ लाख ३६ हजार र इटलीमा १ लाख ३२ हजार पुगेको छ। 

बेलायतमा पनि एकैदिन ५३९ संक्रमितको मृत्यु भएको छ। योसँगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार ३७३ पुगेको छ। यहाँ कुल संक्रमितको संख्या ५१ हजार ६०८ पुगेको छ। – एजेन्सी