काठमाण्डौ । केही सातादेखि चीनमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या घट्दै गइरहेको थियो। कोरोनाको उद्गमस्थलमा मानिएको चीनको हुवेई प्रान्तको वुहान सहर ७६ दिन लकडाउनपछि गत सातादेखि खुलेको छ। त्यहाँ मानिसहरुको चहलपहल पनि बढ्दै गइरहेको छ। यही बेला चीन पुनः यो भाइरस सक्रिय हुने त होइन भन्ने आशंका पनि बढ्दै गएको छ।

यो आशंका उत्पन्न हुनुको प्रमुख कारण हो बितेको २४ घन्टा फेरि चीनमा ९९ जना नयाँ कोरोना संक्रमित फेला परेका छन्। यसरी एकैदिन ९९ जना नयाँ संक्रिमत फेला परेको पछिल्ला केही सातायताकै अत्याधिक हो।

चीनका स्वास्थ्य अधिकारीहरु योसँग चीनमा संक्रमितको संख्या ८२ हजार ५२ पुगेको छ। शनिबार साँझसम्म एकैदिन यत्रा संक्रमित फेला परेपछि यो महामारीले फेरि भयावह स्थिति लिने हो कि भन्ने चिन्ता विश्वभर फैलाएको छ। 

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार शनिबार साँझ १ हजार २८० जना यस्ता संक्रमित थिए जो विदेशबाट फर्किएका थिए। यीमध्ये ४८१ निको भएर फर्किएका छन् भने बाँकीको उपचार भइरहेको छ। जसमध्ये ३६ जनाको अवस्था गम्भीर छ।

आयोगका अनुसार शनिबार फेला परेका नयाँ ९९ संक्रमितमध्ये ९७ जना विदेशबाट फर्किएकाहरु छन्। यसैगरी शनिबारै ६३ जना यस्ता बिरामी पनि फेला परेका छन् जसमा कोरोनाको संक्रमण पुष्टि त हुन्छ तर लक्षण देखिएको छैन। यीमध्ये १२ जना विदेशबाट फर्किरहेकाहरु रहेको आयोगले जनाएको छ। 

आयोगका अनुसार विदेशबाट संक्रमित भएर आएका ३३२ जनासहित १ हजार ८६ जनाको चिकित्सकको निगरानीमा उपचार भइरहेको छ। 

यसरी एकैदिन ठूलो संख्यामा संक्रमितहरु फेलापछि चीनलाई चिन्ताको विषय बनेको छ। चीन सरकारले सामान्य अवस्थामा फर्किन केही गतिविधि खुकुलो बनाएको छ। आयोगका प्रवक्रा मी फेङले शनिबार आमजनतालाई कोरोनाबाट बच्नका लागि रक्षात्मक उपाय अवलम्बन गर्न भीडभाडाबाट बच्न अपिल गरेका छन्। 

कोरोनाबाट संक्रमित भएर अरु देशमा बसिरहेका चिनियाँ नागरिकलाई उद्धार फर्काइएपछि चीनमा कोरोना संक्रमितको संख्या बढ्न थालेको विज्ञहरु बताउँछन्। यद्यपि यसरी ल्याइएकाहरुलाई चीन सरकारले १४ दिने क्वारेन्टाइनमा राखेको छ। – एजेन्सी