काठमाण्डौ । जर्मन स्पोर्ट्सवेयर कम्पनी एडिडासको मुनाफा ३८ प्रतिशतले घटेको छ। 

कम्पनीले जारी गरेको रिपोर्टका अनुसार आर्थिक सन् २०२२ को पहिलो त्रैमासमा कम्पनीको मुनाफा ३२७ मिलियन डलरमा खुम्चिएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८ प्रतिशतले कम हो। 

चीनमा सिर्जना भएको चुनौतीपूर्ण बजार अवस्थाका कारण कम्पनीको मुनाफामा गिरावट आएको कम्पनीले जनाएको छ। चीनमा एडिडासको बिक्री ३५ प्रतिशतले घट्नुका साथै त्यहाँको आपूर्ति शृंखलासमेत प्रभावित बनेको छ। 

चिनियाँ राष्ट्रपति सी जिङपिङले कोरोनाविरुद्धको शून्य नीतिमा कुनै पनि बदलाब नगर्ने संकेत गरेसँगै गत वर्ष चीनमा २० प्रतिशतले वृद्धि भएको कम्पनीको बिक्रीमा व्यापक कमी आएको हो। चीनमा कोरोना नियन्त्रण गर्न लागू गरिएका लकडाउनहरुले अधिकांश स्टोरहरु बन्द अवस्थामा छन्। लकडाउनका कारण व्यवसाय प्रभावित बनेकाले यो वर्ष चीनमा एडिडासको मुनाफामा उल्लेख्य कमी आउने कम्पनीले जनाएको छ। 

कोरोनाका नयाँ केसहरु देखिन थालेपछि गत मार्च महिनाको अन्त्यतिरदेखि चिनिया अधिकारीहरुले सांघाईमा लकडाउन जारी गरेका थिए। अहिले लकडाउनलाई केही खुकुलो पारिए पनि ८० लाखभन्दा बढी मानिसहरुलाई बसोबास क्षेत्र छाडेर जान प्रतिबन्ध लगाइएको छ। 

बितेका केही दिनहरुमा बेइजिङमा समेत प्रतिबन्धहरु कडा पारिएको छ र चीनको संकुचित अर्थतन्त्रले समेत पश्चिमा ब्राण्डहरुलाई चिन्ता थपिदिएको छ। 

गत महिना अन्तर्राष्ट्रिय मुद्रा कोषले यस वर्ष चीनको जीडीपी ४.४ प्रतिशतले बढ्ने अनुमान गरेको थियो। जुन चीन सरकारको ५.५ प्रतिशतको लक्ष्यभन्दा कम हो। 

एडिडासले यस वर्षको पहिलो त्रैमासमा पश्चिमा बजारबाट भने राम्रो मुनाफा आर्जन गरेको छ। कम्पनीले यस वर्ष समग्रमा कम्पनीको मुनाफा ११ देखि १३ प्रतिशतको वृद्धि हुने अनुमान गरेको छ। 

चीनमा एडिडासको प्रतिस्पर्धी नाइकीको मुनाफा पनि ५ प्रतिशतले घटेको छ। –एजेन्सी