काठमाण्डौ । चीनमा बढ्दै गएको कोरोनाको नयाँ भेरिएन्ट विश्वभर फैलिन सक्छ ? यो प्रश्न आमसर्वसाधारणमात्रै होइन वैज्ञानिकहरु पनि त्रसित बनेका छन्। अहिले फैलिएको कोरोनाको नयाँ भेरिएन्ट बीएफ७ ओमिक्रोनजस्तै हुन सक्ने उनीहरुको आँकलन छ। 

वैज्ञानिकहरुले यो नयाँ भेरिएन्ट धेरै प्रकारका कोरोनाको मिश्रण हुनसक्ने वा यो विल्कुलै फरक नयाँ प्रकार हुनसक्ने बताएका छन्। जोन्स हप्किन्स युनिभर्सिटीका संक्रामक रोग विशेषज्ञ डा. स्टुअर्ट क्याम्पबेल रेले भने, ‘चीनमा ठूलो जनसंख्या र सीमित प्रतिरक्षा छ। यो एउटा अवस्थाजस्तो देखिन्छ। जसमा हामीले कोरोनाभाइरसको नयाँ प्रकारको बिस्फोट हुन सक्ने देख्न सक्छौँ।’

हरेक नयाँ संक्रमणले कोरोनाभाइरसलाई उत्परिवर्तन गर्ने अवसर प्रदान गर्दछ । यो नयाँ भाइरस चीनमा तीव्रगतिमा फैलिरहेको छ। १४० करोड जनसंख्या भएको चीनले ‘जिरो कोभिड’ नीतिलाई धेरै हदसम्म त्यागेको छ । यद्यपि रेकर्ड गरिएको खोप दर समग्रमा उच्च छ। विशेषगरी वृद्धहरुमा बुस्टर डोज दर कम छ। 

पश्चिमी देशहरुको एम–आरएनए आधारित भ्याक्सिनभन्दा गम्भीर संक्रमणविरुद्ध चीनको घरेलु खोप कम प्रभावकारी साबित भएको छ। चीनमा धेरै मानिसलाई एक वर्षपहिले खोप लगाइएको थियो। जसको मतलब उनीहरुमा रोग प्रतिरोधात्मक क्षमता घटेको छ।

यी सबैको नतिजा के होला ? सरल जबाफ यो हो कि कोरोनाभाइरसको नयाँ भरिएन्टले उत्परिवर्तन गर्न उर्बर भूमि फेला पार्नेछ। रेले भने, ‘जब हामीले संक्रमणको ठूलो लहर देख्छौँ, तब प्रायः नयाँ प्रकारको भाइरसले पछ्याउँछ।’

भाइरसहरु अध्ययन गर्ने ओहायो स्टेट युनिभर्सिटीका डा शान–लु लिउले चीनमा विद्यमान ओमिक्रोनका धेरै प्रकार पहिचान गरिएको बताए। जसमा बीएफ७ भेरिएन्ट समावेश छ। यो नयाँ भेरिएन्ट प्रतिरक्षाबाट बच्न सक्छ। 

चीनमा कोरोनाको मामिलामा हालको वृद्धिको मुख्य कारक बीएफ७ लाई मानिएको छ। विज्ञहरूका अनुसार आंशिक प्रतिरोधात्मक क्षमता भएका जनसंख्या (जस्तै चीन) ले यो भाइरसलाई उत्परिवर्तन गर्न दबाब दिएको छ। –एजेन्सी