काठमाण्डौ । कोरोनाभाइरसले चीनमा फेरि आतंक मच्चाइरहेको छ। हरेक हप्ता हजारौँ मानिसले ज्यान गुमाइरहेका छन्। 

यी सबैको बाबजुद चीनले लगातार तथ्यांक लुकाउने र यहाँको अवस्था सामान्य रहेको बताउँदै आएको छ। डब्ल्यूएचओले डाटा लुकाएकोमा चीनलाई धेरैपटक सचेत गराइसकेको छ। 

यी सबैका बीचमा चीनमा कोरोनाबारे ठूलो खुलासा भएको छ। चीनमा हालसम्म ८० प्रतिशत जनसंख्या कोरोनाबाट संक्रमित भइसकेका छन्। यतिमात्र होइन त्यहाँ पछिल्लो १ हप्तामा १३ हजारजनाको मृत्यु भएको सञ्चार माध्यमहरुमा आइरहेका छन्। 

कोरोनाले चीनमा कस्तो विनाश मच्चाइरहेको छ वा भविष्यमा स्थिति कति भयावह हुन सक्छ भन्ने देखाउने चीनबारे यस्तो खुलासा भएको यो पहिलोपटक भने होइन। 

चीनले डिसेम्बरको पहिलो हप्तामा कडा शून्य कोभिड नीति अन्त्य गरेको थियो। यो कोरोनाको पहिलो लहरदेखि लागू भएको थियो। चीनमा कोभिड नीतिको धेरै विरोध भएको थियो। त्यसैले जिनपिङ सरकारले शून्य कोभिड नीति अन्त्य गर्ने निर्णय गरेको थियो। यसपछि चीनमा कोरोनाका केसहरु तीव्र गतिमा बढ्न थालेका छन्।

चीनमा पछिल्लो १ महिनामा अस्पतालमा करिब ६० हजारजनाको मृत्यु भएको छ। चीनको नेसनल हेल्थ कमिसन मेडिकल अफेयर्स विभागका निर्देशक जियाओ याहुईले केही समयअघि देशमा डिसेम्बर ८ देखि जनवरी १२ सम्म अस्पतालमा जम्मा ५९ हजार ९३८ जनाको मृत्यु भएको खुलासा गरेका थिए।

चीनमा पछिल्लो एक साता (१३–१९ जनवरी) मा महामारीका कारण १३ हजारले ज्यान गुमाएका छन्। चीनका प्रख्यात वैज्ञानिक वु जुनयाओले चीनमा हरेक १० मध्ये ८ जनामा कोरोना संक्रमण भएको दाबी गरेका छन्। चिनियाँ वैज्ञानिकको यो दाबी यस्तो बेला आएको हो जब चीनले लुनर न्यु इयर मनाउँदैछ। नयाँ वर्षको बिदामा मानिसहरु घुमफिर गरिरहेका छन्। यस्तो अवस्थामा चीनमा अर्को लहरको खतरा बढिरहेको छ। चीनमा कोरोना संक्रमण ग्रामीण क्षेत्रमा पनि नफैलियोस् भन्ने डर छ।

चीनमा कोरोनाको अवस्थालाई लिएर डिसेम्बरमा एउटा चकित पार्ने रिपोर्ट आएको थियो। यहाँ डिसेम्बरको २० दिनमा २५ करोड मानिसमा कोरोना पोजेटिभ देखिएको छ। सरकारी कागजपत्र बाहिरिएपछि यो खुलासा भएको हो। रेडियो फ्री एसियाले सामाजिक सञ्जालमा प्रसारित कागजातहरु उद्धृत गर्दै डिसेम्बरको पहिलो हप्तामा ‘जिरो–कोभिड नीति’ खुकुलो पारेपछि स्थिति भयावह बनेको र २० दिनमा मात्रै चीनमा फैलिएको झन्डै आधा केसहरु फेला परेको खुलासा गरेको छ। कोभिड–१९ बाट २५ करोड मानिस प्रभावित भएका छन्।

पछिल्लो दिन समाचार एजेन्सी एएफपीबाट एक रिपोर्टका अनुसार हेनान प्रान्तको स्वास्थ्य आयोगका निर्देशक कान क्वानचेङले पत्रकार सम्मेलनमा जनवरी ६ सम्म हेनानमा कोरोना संक्रमण दर ८९.० प्रतिशत रहेको बताए। अर्थात् हेनानको ९९.४ मिलियन जनसंख्यामध्ये ८८.५ मिलियन जनसंख्या कोरोनाबाट संक्रमित भएका थिए।

हालसालै चीनमा कोरोनाले गरेको विनाशका धेरै भिडियोहरु बाहिर आएका थिए। यसमा चीनका अस्पतालहरुमा लामो लाइन देख्न सकिन्छ। धेरै सहरका अस्पतालमा उपचारका लागि शय्या नै छैन। औषधिको पनि ठूलो अभाव छ। बेइजिङलगायत धेरै प्रान्तबाट स्तब्ध पार्ने भिडियोहरु सार्वजनिक भएका छन्। यहाँको श्मशानस्थलमा लामो लाइन लागेको थियो। अन्तिम संस्कार गर्न मानिसहरु कुर्नुपरेको थियो।

अर्कोतर्फ विनाशको बीचमा चीनले ८ जनवरीदेखि आफ्ना सीमानाका पूर्ण रुपमा खोलेको छ। यतिमात्र होइन चीनबाट विदेशबाट आउने यात्रुका लागि क्वारेन्टाइन नियम पनि खारेज गरिएको छ। चीनले कोरोनाबाट हुने मृत्युको नियम पनि परिवर्तन गरेको छ। जसले गर्दा कोरोनाबाट मृत्यु हुनेको संख्या न्यून रहन्छ। 

चीनको नाका खोल्ने घोषणा गरेपछि अमेरिका, भारतलगायत युरोपका सबै देशले चीनबाट आउने यात्रुलाई कडा कारबाही गर्न थालेका छन्। चीनबाट भर्खरै इटाली आएका दुई उडानका आधाभन्दा बढी यात्रुमा कोरोना संक्रमण देखिएको छ। 

त्यसपछि इटालीले चीनबाट आउने सबै यात्रुको कोरोना परीक्षण गर्ने निर्णय गरेको छ। इटाली २०२० जस्तै गल्ती दोहोर्याउन चाहँदैन। त्यसपछि इटाली युरोपको पहिलो देश थियो, जहाँ कोरोनाले सबैभन्दा बढी विनाश ल्यायो।

चीनको चेङ्दुमा पनि कोरोनाले ठूलो विनाश निम्त्यायो। समाचार एजेन्सी रोयटर्सको रिपोर्टअनुसार यहाँको सबैभन्दा ठूलो अस्पताल ह्वाक्सका कर्मचारीले आफूहरु कोरोना संक्रमितको उपचारमा निकै व्यस्त रहेको बताएका छन्। अस्पतालका एम्बुलेन्स चालकले नाम न छाप्ने सर्तमा भने, ‘म ३० वर्षदेखि यो काम गर्दै आएको छु। तर अहिलेको जस्तो व्यस्तता कहिल्यै थिएन। अस्पताल भित्र र बाहिर लामो लाइन छ।’ एम्बुलेन्समा रहेका सबै बिरामीलाई अक्सिजन दिइँदैछ। अस्पतालको आकस्मिक विभागमा खटिएका स्वास्थ्यकर्मीले अधिकांश बिरामीमा कोरोना संक्रमण भएको बताएका थिए। अस्पतालमा कोरोनाको औषधिको स्टक छैन। बिरामीलाई सामान्य लक्षणको मात्रै औषधि दिइँदै आएको छ।

चीनका ठूला सहर बेइजिङ, आन्सान र सांघाईबाट यस्ता धेरै भिडियो सार्वजनिक भएका छन्, जसमा विनाशको दृश्य स्पष्ट देख्न सकिन्छ। यी सहरका अस्पतालहरुमा शय्या नै बाँकी थिएन। बिरामीलाई भुइँमा लडेर उपचार भइरहेको थियो। यतिमात्र होइन शवदाह गृहमा पनि लामो लाइन लागेको थियो। अवस्था यस्तो थियो कि कतै श्मशानमा एक साता कुर्नुपरेको थियो।

कोरोनाका कारण मृत्यु हुनेको तथ्यांक विश्वसामु नल्याउन चीनले कडा मेहनत गरिरहेको आरोप लागेको छ। फारममा हस्ताक्षर गरेरमात्रै अस्पतालबाट आफन्तको शव बुझाइँदै आएको छ। ‘जसमा जनताले आफ्नो आफन्तको मृत्यु कोरोनाबाट नभएको लिखित रुपमा दिनुपर्ने हुन्छ’, रिपोर्टहरुमा उल्लेख छ। –एजेन्सी