काठमाण्डौ । चीनलाई उछिन्दै अमेरिका भारतको सबैभन्दा ठूलो व्यापार साझेदार बनेको छ। यसले दुई देशबीचको आर्थिक सम्बन्ध मजबुत बन्दै गएको प्रमाण भएको बताइएको छ।

भारतको वाणिज्य मन्त्रालयको तथ्यांक अनुसार अमेरिका र भारतबीचको द्विपक्षीय व्यापार २०२०–२१ मा ८०.५१ अर्ब डलर रहेकोमा २०२१–२२ मा बढेर ११९ अर्ब डलर पुगेको छ।

सन् २०२१–२२ मा अमेरिकाबाट भारतको निर्यात ५१.६२ अर्ब डलरबाट बढेर ७६.११ अर्ब डलर पुगेको छ। योसँगै अमेरिकाबाट भारतको आयात पनि २०२०–२१ मा २९ अर्ब डलरबाट बढेर ४३.३१ अर्ब डलर पुगेको छ।

भारत र चीनबीचको द्विपक्षीय व्यापार सन् २०२०–२१ मा ८६.४ अर्ब डलरको रहेकोमा २०२१–२२ मा ११५.४२ अर्ब डलर रहेको छ। सन् २०२०–२१ मा चीनबाट भारतको निर्यात २१.१८ अर्ब डलर थियो। जुन २०२१–२२ मा बढेर २१.२५ अर्ब डलर पुगेको छ। 

यसैगरी चीनबाट भारतको आयात २०२०–२१ मा ६५.२१ अर्ब डलरबाट बढेर २०२१–२२ मा बढेर ९४.१६ अर्ब डलर पुगेको छ। 

चीनसँगको भारतको व्यापार घाटा २०२०–२०२१ मा ४४ अर्ब डलर रहेकोमा २०२१–२२ मा बढेर ७२.९१ अर्ब डलर पुगेको छ।

विश्लेषकहरुले अमेरिकासँगको यो व्यापार अझै कायमै रहनेछ। अमेरिका र भारतले निरन्तर व्यापारिक सम्बन्धलाई मजबुत बनाइरहेका छन्।

भारतीय निर्यात संगठन महासंघका उपाध्यक्ष खालिद खानले भारत एक उदाउँदो भरपर्दो व्यापारिक साझेदार रहेको र विश्वव्यापी कम्पनीहरुले चीनमा मात्र आफ्नो निर्भरता घटाउँदै लगेको बताए। ‘ती कम्पनीहरुले आफ्नो व्यापार भारतजस्ता देशहरुमा फैलाइरहेका छन्’, उनले भने। 

खानका अनुसार आगामी वर्षहरुमा भारत र अमेरिकाबीचको द्विपक्षीय व्यापार अझ बढ्नेछ। ‘भारत अमेरिकाको नेतृत्वमा रहेको इन्डो प्यासिफिक इकोनोमिक फ्रेमवर्कमा सामेल भएको छ र यसले दुई देशबीचको व्यापारिक सम्बन्धलाई अझ सुदृढ बनाउनेछ’, उनले भने।

बैंगलोरस्थित इन्डियन इन्स्टिच्युट अफ प्लान्टेसन म्यानेजमेन्ट (आईआईपीएम) का निर्देशक राकेश मोहन जोशीले भारत १.३९ अर्ब जनसंख्या भएको विश्वको तेस्रो ठूलो उपभोक्ता बजार रहेको बताए। ‘दुई देशको अर्थतन्त्रबीच प्रविधि हस्तान्तरण, उत्पादन, व्यापार र लगानीको अपार सम्भावना छ’, उनले भने, ‘भारतले अमेरिका पठाउने उत्पादनमा पेट्रोलियमबाहेक पेट्रोलियम पालिस गरिएको हीरा, औषधि उत्पादन, गहना, हलुका तेल र फ्रोजन झिंगा पर्छन्। जसमा भारतले अमेरिकाबाट पेट्रोलियम, रफ हीरा, एलपीजी, सुन, कोइला र बदाम खरिद गर्छ।’

भारतसँगको व्यापार लाभदायक देशमध्ये अमेरिका पनि एक हो। अर्थात् भारतले अमेरिकामा धेरै सामान बेच्छ र कम खरिद गर्छ। सन् २०२१–२२ मा अमेरिकासँग भारतको व्यापार बचत ३२.८ बिलियन डलर थियो।

तथ्यांकअनुसार २०१३–१४ देखि २०१७–१८ र २०२०–२१ सम्म भारतको सबैभन्दा ठूलो व्यापार साझेदार चीन थियो। चीनभन्दा पहिले यूएई भारतको सबैभन्दा ठूलो व्यापार साझेदार थियो। यूएईसँग भारतको द्विपक्षीय व्यापार २०२१–२२ मा ७२.९ अर्ब डलर थियो। यूएई हाल भारतको तेस्रो ठूलो व्यापार साझेदार हो। त्यसपछि साउदी अरब, इराक र सिंगापुर छन्। –एजेन्सी