काठमाण्डौ । भारत र पाकिस्तानबीचको जारी शितयुद्धमा पाकिस्तानलाई सहयोग गरी भारतलाई घुमाउरो ढंगले प्रहार गरेको आरोप खेपिरहेको गणतन्त्र चीनले जलविद्युत परियोजनाका लागि ब्रम्हपुत्रको एक सहायक नदीको पानी रोकिदिएको छ । 

चीनले तिब्बतमा रहेको आफ्नो एक जलविद्युत परियोजनाका लागि भन्दै ब्रम्हपुत्रको एक सहायक नदीको पानी रोकेपछि त्यसले भारत र बंगलादेशमा पानीको हाहाकार मच्चिने त्रास फैलिएको छ । 

समाचार एजेन्सी सिन्ह्वाका अनुसार चीनले भनेको छ कि पानी रोकेर उसले यसबाट बिजुली उत्पादन गर्नेछ, पानीको प्रयोग चीनका खेतीयोग्य जमीनमा सिंचाईका लागि गरिनेछ र यसबाट बाढीलाई काबुमा ल्याउने काम गर्न पनि सहजता थपिनेछ । 

तर, चीनको यो कदमबाट भारत र बंगलादेश चिन्तित भएका छन् । कारण, चीनको यो कदमबाट भारत र बंगलादेशका ब्रम्हपुत्रको सो सहायक नदीको इलाकामा रहने लाखौं नागरिक पानीको हाहाकारबाट प्रताडित हुनेछन् ।

चीनबाट बग्ने ब्रम्हपुत्र नदी भारतको पूर्वोत्तर राज्य अरुणाञ्चल प्रदेश र आसाम हुँदै बंगलादेशसम्म पुग्छ । 

सिन्ह्वाका अनुसार चीनले यो जलविद्युत परियोजनाको निर्माण सन् २०१४ देखि थालनी गरेको थियो र यो परियोजना पूरा गर्न सन् २०१९ सम्मको समय लाग्नेछ । 

ब्रम्हपुत्रको सहायक नदीको पानी चिनले रोकिदिएको खबर यस्तो समयमा बाहिर आएको छ, जतिबेला भारतले  पाकिस्तानसँग वर्षौ पहिला गरेको सिन्धु जल सम्झौतामाथि पुनर्विचार थालेको छ । 

भारत प्रशासित जम्मू कश्मिरको उडीमा आतंकवादी हमलापछि एक बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका थिए–‘खून र पानी साथ साथ बग्न सक्दैन ।’ उडीमा भएको हमलामा १९ भारतीय सैनिकको मृत्यु भएको थियो । त्यसपछि भारतले समेत सर्जिकल स्टाइक गरी पाकिस्तानको सीमाभित्रै गरी हमला गरेको छ र यो कदमबाट भारत पाकिस्तानबीचको तनाव उत्कर्षमा छ । यही बेला चीनले भारतका लाखौं नागरिकमा पानीको हाहाकार हुने गरी नदी नै थुनिदिएपछि यसलाई अर्थपूर्ण रुपमा हेरिएको मिडिया रिपोर्टहरुमा उल्लेख छ । 

यो जलविद्युत परियोजना चीनको सबैभन्दा महंगो परियोजना हो । चीनले यो नदी रोकेमा बंगलादेश र भारतका लाखौं मानिसको पानीको स्रोत बन्द हुने छ । परियोजनाका प्रशासनिक ब्युरोका प्रमुख झाङ युन्बोले तिब्बतको सिगात्सेमा यारलुङ झाङ्बो (ब्रह्मपुत्र को तिब्बती नाम) को सहायक नदी सियाबुकुमा निर्माण भइरहेको लाल्हो परियोजनामा ४.९५ अर्ब (७४ करोड अमेरिकी डलर) लगानी गरिएको जानकारी दिए । ब्रह्मपुत्र नदी सिगात्से हुँदै अरुणाचल आइपुग्छ । सर्वाधिक महँगो परियोजना भनिएको लाल्होको निर्माण सन् २०१४ को जुनमा सुरु भएको थियो । 

तर, चीनले यस परियोजनामा पानीको प्रवाहको सतहमा बाँध निर्माण गरिएको यसबाट भारत प्रभावित नहुने दाबी गर्दै आएको छ । पानी रोकेर अप्ठेरो पार्ने आफ्नो कुनै उद्देश्य नरहेको चिनिया अधिकारीहरुको भनाई छ ।