काठमाण्डौ । चीनले फेरि रक्षा बजेट बढाउने घोषणा गरेको छ। 

चिनियाँ संसदको बैठकले यस्तो निर्णय गरेको हो। १४ औँ राष्ट्रिय जन कांग्रेसको पहिलो सत्रका प्रवक्ता वाङ चाओले जटिल सुरक्षा चुनौतीहरुको सामना गर्न र देशको दायित्व पूरा गर्न चीनले आफ्नो रक्षा बजेट बढाएको बताए। उनले रक्षा खर्चमा भएको वृद्धि जटिल सुरक्षा चुनौतीहरुको जबाफ दिन र ठूलो देशको दायित्व पूरा गर्ने आवश्यकता दुवैबाट प्रेरित भएको औँल्याए। 

प्रवक्ता चाओले सैन्य खर्चको मापन पनि रक्षा निर्माणका आधारभूत आवश्यकता र राष्ट्रिय अर्थतन्त्रको विकासको स्तरले निर्धारण गर्ने बताए।

चाओलेसन् २०२३ मा चीनले आफ्नो रक्षा खर्चमा कति वृद्धि गर्ने हो भन्न अस्वीकार गरे। उनले आइतबार सार्वजनिक हुने देशको मस्यौदा बजेटमा सबै विवरण राखिने बताए। 

प्रवक्ता चाओले भने कि देशको जीडीपीको प्रतिशतका रुपमा चीनको रक्षा बजेटको अंश धेरै वर्षसम्म स्थिर र विश्वव्यापी औसत तथ्यांकभन्दा कम रहेको छ। उनले भने, ‘हाम्रो विकास दर मध्यम गतिमा अघि बढिरहेको छ र यो धेरै हदसम्म न्यायोचित छ।’

चीनको सशस्त्र बलको आधुनिकीकरणले कुनै पनि देशलाई खतरा नपर्ने बरु यो क्षेत्र र विश्वको स्थायित्व र शान्ति कायम गर्न सकारात्मक शक्ति बन्ने चीनले रक्षा बजेट बढाउने विषयमा स्पष्ट पारेको छ। चीनले हरेक वर्ष आफ्नो रक्षा बजेट निरन्तर बढाउँदै आएको छ। 

यसैले २०२२ मा चीनले आफ्नो सैन्य बजेट वार्षिक रुपमा ७.१ प्रतिशतले बढाएर १.४५ ट्रिलियन युआन (२०९.९ बिलियनडलर ) गर्ने योजना बनाएको छ।

चीन अहिले विश्वमा आफ्नो आक्रामकताका लागि कुख्यात छ। अमेरिका, भारत, जापान, अस्ट्रेलिया, ताइवान, फिलिपिन्सजस्ता देशहरुसँग यसको विवाद छ। लद्दाखमा चीन भारतसँग भिडिरहेको छ। यसका लागि दुवै देशले प्रतिकूल मौसममा पनि भारी सैन्य उपकरणसहित हजारौं सैनिक तैनाथ गरेका छन्। 

दक्षिण चीन सागरमा चीनको आक्रामक सैन्य गतिविधिले पनि तनाव बढाएको छ। चिनियाँ नौसेनाले यस क्षेत्रमा अमेरिकी नौसेनासँग धेरै घनिष्ठ मुठभेडहरु गरेको छ। यसबाहेक चीनले ताइवान, जापान र फिलिपिन्सको जलक्षेत्रमा पनि घुसपैठ गरेको छ। –एजेन्सी