काठमाण्डौ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू दोस्रोपटक अमेरिकाको राष्ट्रपति नबनोस् भन्ने चीनको चाहना रहेको बताएका छन्।

समाचार एजेन्सी रोयटर्ससँगका अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा चीनले आफूलाई रोक्न चाहेको बताएका छन्। ‘अहिले जरी चीन कोरोनाभाइरस महामारी ह्यान्डल गरिरहेको छ, यसले पनि प्रस्ट हुन्छ चीन मलाई दोस्रोपटक अमेरिकाको राष्ट्रपतिका रुपमा हेर्न चाहन्न’, उनले भनेका छन्। 

ट्रम्प लगातार चीनले जानीजानी कोरोनाभाइरस विश्वभर फैलिएको आरोप लगाइरहेका छन्। कोरोना संक्रमणबाट बिहीबार बिहानसम्म अमेरिकामा ६० हजारभन्दा बढीको ज्यान गइसकेको छ। यसका साथै अमेरिकाको अर्थतन्त्र निकै प्रभावित भएको छ भने बेरोजगारी समस्या पनि बिकराल बन्दै गएको छ।

कोरोनाभाइरसबाट अमेरिकामा मच्चिएको वितण्डालाई लिएर राष्ट्रपति ट्रम्पमाथि थुप्रै प्रश्नहरु उठिरहेका छन्। उनले यसलाई गम्भीरताका साथ नलिएको आरोप पनि लागिरहेका छन्। जति छिटो यो भाइरस नियन्त्रणका लागि उनी सक्रिय हुनुपर्ने त्यस्तो नभएको पनि उनीमाथि आरोप लाग्दै आएको छ।

उता राष्ट्रपति ट्रम्प भने यो भाइरस नियन्त्रणका लागि सुरुआती चरणमै चीन सक्रिय हुनुपर्ने बताउँदै आएका छन्। ता कि विश्वले यसको गम्भीर असरबारे बेलै बुझ्न सक्थे तर चीनले सक्रियता नदेखाएको उनको आरोप छ। 

के अब कोरोनाभाइरसका कारण अमेरिकाले अब चीनमा लगाइएका ट्यारिफ बढाउँछ त भन्ने पत्रकारको जिज्ञासामा ट्रम्पले भनेका छन्, ‘थुप्रै चिज छन्, जुन म गर्न सक्छु।’

राष्ट्रपति ट्रम्पले अहिले आफू कोरोनाबाट उत्पन्न परिस्थिति लगातार निहालिरहेको बताए। ‘चीनका अधिकारीहरु अहिले कोरोना भाइरस विश्वभर फैलिनुमा आफूहरु दोषी नभएको भन्दै लगातार आफ्नो छवि सुधार्ने कोसिस गरिरहेका छन्, उनीहरु यसका लागि पीआरको सहारा लिइरहेका छन्’, ट्रम्पले भने, ‘चीन मलाई रोक्न जे पनि गर्न सक्छ, ता कि म राष्ट्रपतिको रेसमा पछाडि परौँ। चीन चाहन्छ कि डेमोक्रेटिक पार्टीका जो बाइडन राष्ट्रपति बनोस्।’

केही समययता कोरोनाभाइरस महामारीलाई लिएर अमेरिका र चीनबीच वाक्युद्ध चलिरहेको छ। यसअघि ट्रम्पले कोरोनालाई चिनियाँ भाइरस भनेका थिए। चीनले भने यसमा निकै आपत्ति जनाएको थियो। – एजेन्सी