काठमाण्डौ । चैतको अन्तिम सातामा वाणिज्य बैंकहरुको कर्जा लगानी र निक्षेप संकलन बढेको छ। 

नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले आज सार्वजनिक गरेको तथ्यांकअनुसार चैतको अन्तिम साता बैंकहरुबाट ३४ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ। जुन गत साताको तुलनामा ५ अर्बले कम हो। गत साता वाणिज्य बैंकहरुले ३९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए। 

यो चैत महिनामा मात्रै वाणिज्य बैंकहरुले १३३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। योसँगै बैंकहरुको कुल कर्जा लगानी ३५ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ। 

यसैगरी चैत अन्तिम साता बैंकहरुले २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। जुन गत साताको तुलनामा १७ अर्ब रुपैयाँले कम हो। गत साता बैंकहरुले ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए।

चैत महिनाभरि भने वाणिज्य बैंकहरुले ८७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। योसँगै बैंकहरुको कुल निक्षेप ३९ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ।