काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी चैत्र ४ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०७२ आयोजना हुने भएको छ । 

मेला बारे जानकारी गराउने उद्देश्यले महासंघ सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । महासंघको सदस्य नेपाल हस्तकला महासंघ र नेपाल जडीबूटी उत्पादक संघ यस वर्षको मेलाको सहआयोजक छन् ।

नेपाल सरकार र वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा क्यालेन्डर इभेन्टको रुपमा उक्त मेला आयोजना हुँदै आएको छ । यो पाँचौ संस्करण हो । मेलामा सहभागी हुन चाहने स्वदेशी एवं विदेशी कम्पनीहरुका लागि स्टल बुकिङ खुला गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोग एवं महासंघको पहलमा महासंघका सदस्य उद्योग वाणिज्य संघहरुको आयोजनामा देशका विभिन्न भागहरुमा जिल्ला तथा क्षेत्रीय मेला महोत्सवहरु पनि आयोजना हुँदै आएका छन् । 

यो वर्षको अन्तर्राष्ट्रिय व्यापार मेलामा ३ सय भन्दा बढी स्टलमार्फत स्वदेशी एवम् विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिनेछ । यस वर्ष मेलामा भारत र चीन लगायत बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, भुटान, ताइवान लगायत देशका कम्पनीहरुको सहभागिता रहनेछ भने जापान, कोरिया, थाइल्याण्ड लगायतका देशहरुबाट खरीदकर्ताहरुले अवलोकन गर्नेछन् । 

मेलामा भारत र चीनबाट क्रमशः ७० र ९० वटा स्टलहरु रहने बताइएको छ । 

एकै छानामुनिबाट स्वदेशी र विदेशी वस्तु तथा सेवाको प्रवद्र्धन, खरिद बिक्री, प्रत्यक्ष अन्तरक्रिया हुने मेला नयाँ सोंच, उत्पादन तथा प्रविधिको सही परिक्षण गर्ने उपयुक्त थलो पनि हुने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बताए । उनका अनुसार यसका अतिरिक्त मेलामा नेपाली र सहभागी अन्तर्राष्ट्रिय प्रदर्शनीकर्ता बीच प्रविधि तथा शीप आदानप्रदान, एकल तथा संयुक्त लगानीको सम्भाव्यता तथा लगानीका क्षेत्रहरुको पहिचान, आपसी व्यवसायिक भेटघाट महत्वपूर्ण आकर्षणहरु रहने छन् । महासंघले यसलाई अन्तराष्ट्रिय रुपमा ब्राण्डिङ समेत गरिरहेको र मेलालाई स्वदेशी एवं विदेशी एक्जिविटर बीच व्यवसायिक सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण थलोको रुपमा विकास गरिरहेको समेत मुरारकाले बताए । 

मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण, शिक्षा, औषधिजन्य, फलाम तथा स्टीलका छुटछुट्टै स्टलहरु रहने छन् । तयारी पोशाक, छाला तथा छालाजन्य उत्पादनहरु, नयाँ प्रविधि तथा उपकरणहरु, खाद्यन्न, फर्निचर, फेसन वेयर, होम डेकोर, सेवा क्षेत्रका विविध स्टलहरु मेलाका अन्य आकर्षण रहने बताइएको छ । 

मेलामा जडीवूटी र नेपाल व्यापार रणनीति अन्तरगत रहेका वस्तु तथा सेवा (एनटीआइएस)हरुको प्रदर्शनी हुनेछ, जसमा विभिन्न ७० वटा स्टल मार्फत उत्पादनकर्ता, प्रशोधनकर्ता र निर्यातकर्ताको सहभागिता रहनेछ । मेलामा एनटीआइएसको प्रचार प्रसार तथा तीनको अन्तराष्ट्रिय खरिदकर्तासंग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य समेत लिइएको बताइएको छ । 

महासंघकै नेतृत्वमा विगत १२ वर्षदेखि मुलुकभित्र हरेक वर्ष क्षेत्रीयस्तर, जिल्लास्तर एवं बस्तुगत गरी करिब २० देखि ३० वटा मेलाहरु देशका विभिन्न भागमा आयोजना हुँदै आइरहेका छन् । केही सम्पन्न भइसकेका छन् केही जिल्लामा मेलाको तयारी थालिसकिएको छ । 

गत वर्षको अन्तर्राष्ट्रिय मेलामा स्वदेशी २ सय ३० र विदेशी १०३ प्रदर्शनीकर्ताहरुले भाग लिएका र करिब २ लाखले मेलाको अवलोकन गरेका र यो वर्ष मेला अवलोकन गर्नेहरु अझै बढ्ने महासंघको दाबी छ । 

अन्तर्राष्ट्रिय व्यापार मेलाका सम्बन्धमा महासंघको मेला समितिका सभापति केशव पाण्डेले आर्थिक क्रियाकलाप बढाउने यस्ता मेला महोत्सवको आयोजनामा सरकारका तर्फबाट विशेष सहयोग हुनुपर्नेमा जोड दिए ।