काठमाण्डौ । लघुवित्त संस्थाहरुबीच मर्जरको लहर चलेको छ । यही क्रममा चौतारी लघुवित्त वित्तीय संस्था र आरम्भ माइक्रोफाइनान्सबीच मर्ज हुने भएको छ । 

रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त र काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्सले एकआपसमा गाभ्ने गाभिने सम्झौता गरेका हुन् । 

दुई माइक्रोफाइनान्स बीच १ बराबर १ को सेयर स्वापत अनुपातमा मर्जको सम्झौता भएको हो । 

सम्झौतामा मर्जपछि बन्ने एकीकृत संस्थाको नाम 'चौतारी लघुवित्त' रहने उल्लेख छ । मर्जपछि बन्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा चौतारीका हालका सीइओ लक्ष्मण घिमिरे रहनेछन् भने एकीकृत संस्थाको केन्द्रीय कार्यालय आरम्भको मुख्य कार्यालय रहेको स्थानमा रहनेछ । 

मर्जपछि बन्ने एकीकृत संस्थाको चुक्तापूँजी २४ करोड ६० लाखको उचाईमा पुग्नेछ । यी दुवै माइक्रोफाइनानसले आइपीओ निश्कासन गरी पूँजी बढाएका थिए । आरम्भको ६ करोड चुक्तापूँजी रहेको थियो भने चौतारीको १८ करोड ६० लाखको उचाईमा पुगेको थियो । 

यी दुवै कम्पनीको सेयर दोश्रो बजारमा कारोबार भइरहेको छ । दोश्रो बजारमा आरम्भको अन्तिम बिक्री मूल्य प्रतिकित्ता ५२९ रुपैयाँ छ भने चौतारीको ४४२ रुपैयाँ रहेको छ ।