काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दिल्ली यात्रा सकेर फर्किएलगत्तै ‘अर्जेन्ट बोलावट भयो भन्दै पूर्व राजा ज्ञानेन्द्र शाह बिहीबार दिल्लीतर्फ उडेका छन् । 

पूर्व राजाको पारिवारिक स्रोतका अनुसार दिल्लीबाट ज्ञानेन्द्र शाहलाई आकस्मिक बोलावट भएको हो । आकस्मिक रुपमा दिल्लीतर्फ पूर्व राजा उड्नुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । 

केही समयअघि पत्नीको उपचारको क्रममा भारतको राजधानी नयाँ दिल्ली पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले त्यहाँका महत्वपूर्ण एजेन्सी, नेता तथा मन्त्रीहरुलाई भेट गरेका थिए । सो क्रममा उनको हिन्दू राष्ट्र पुनस्र्थापनाको बिषयमा विभिन्न अधिकारीहरुसँग गम्भीर कुराकानी भएको भारतस्थित हाम्रो स्रोतले जनाएको छ । देउवा दिल्ली गएकै बेला त्यहाँ पुगेका कांग्रेसका कट्टर हिन्दूवादी र राजावादी नेता खूमबहादुर खड्काले खेलेको भूमिकाका कारणले समेत पूर्व राजालाई त्यहाँ आकस्मिक रुपमा बोलाइएको हुनसक्ने स्रोतहरुको आँकलन छ । 

पूर्वराजा निकट स्रोतका अनुसार उनी २४ घण्टाका लागि भन्दै बिहीबार अपरान्हको जेट एयरको बिमानबाट दिल्लीतर्फ उडेका छन् । उनले साथमा आफ्ना स्वकीय सचिव मात्र लिएर दिल्ली लागेका छन् । दिल्लीमा केही महत्वपूर्ण नेता, एजेन्सीका अधिकारीहरुसँग उनको बैठकहरु राखिएको समेत उच्च स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार उनको साथमा स्वकीय सचिव बाहेक सुरक्षागार्ड समेत लगिएको छैन । भ्रमणलाई अति गोप्य बनाउनका लागि सुटुक्क दिल्ली उडेका उनको महत्वपूर्ण राजनीतिक भेटघाट हुने स्रोतहरुको भनाई छ । 

पूर्व राजा ज्ञानेन्द्र कहिले बैंकक तथा सिंगापुर पुगेर त्यतैबाट सोझै दिल्ली आई त्यहाँका नेता तथा महत्वपूर्ण एजेन्सीका अधिकारीसँग भेट्दै आएका छन् । उनले भारतका महत्वपूर्ण नेता तथा अधिकारीहरुलाई कयौंपटक बैंकक र सिंगापुरमै समेत भेट गरेका समाचार यसअघि पटक–पटक सार्वजनिक भइसकेका छन् । 

राजा ज्ञानेन्द्र नेपाललाई धर्म निरपेक्ष राष्ट्रबाट हिन्दू राष्ट्रमा रुपान्तरण गर्नुपर्ने र त्यसैको आडमा आफ्ना नाति हृदयेन्द्रलाई बेबी किङ बनाएर राजसंस्था पुनस्र्थापना गरिनुपर्ने लबिङमा रहेका छन् । यो पटकको भ्रमणको मुख्य एजेण्डा समेत यही रहेको बुझिएको छ । तर कांग्रेसका शीर्ष र महत्वपूर्ण नेताहरुको दिल्ली दौड सकिएलगत्तै एकाएक राजा त्यसतर्फ उड्नु अर्थपूर्ण हुनसक्ने राजनीतिक विश्लेषकहरु बताउँछन् ।