काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ४९ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा १९.०२ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म संस्थाको खुद नाफा ६१ करोड ५४ लाख रुपैयाँमा सीमित थियो। 

यो अवधिसम्म संस्थाको सञ्चालन मुनाफा पनि १९.०३ प्रतिशतले घटेर ७१ करोड १९ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा ८७ करोड ९२ लाख रुपैयाँ भएको थियो। 

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी भने १३.९१ प्रतिशतले बढेर १ अर्ब २० करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ९८ करोड ४१ लाख रुपैयाँमा सीमित थियो।

चालु आर्थिक वर्षको ६ महिनामा संस्थाले २४ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ७१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले २२ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ८८ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

चुक्तापुँजी २ अर्ब ३२ करोड रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार ३५.१४ प्रतिशतले घटेर १ अर्ब २८ करोड रुपैयाँमा खुम्चिएको छ। गत वर्ष रिजर्भमा १ अर्ब ९७ करोड रुपैयाँ रहेको थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४२.८९ रुपैयाँ रहेको छ। पीई रेसियो ३२.१३ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २०३.२६ रुपैयाँ रहेको छ।