काठमाण्डौ । नेपाल बैंकको एफपीओ निश्कासन भएको छैठौ दिनसम्म ११ लाख ३६ हजार कित्ता खरीदका लागि आवेदन परेको छ । 

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार छैठो दिनसम्म नेपाल बैंकको एफपीओमा १० हजार ७ सय ६९ आवेदकले सेयर खरीदका लागि आवेदन दिएका हुन् । 

बैंकले असार १५ गतेदेखि खुल्ला गरेको ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ बराबरको १ करोड  ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपीओमा यो अवधिसम्म ३२  करोडको हाराहारीमा आवेदन परेको हो ।
बैंकले पहिलो चरणमा एफपीओ बिक्री नहुने देखेपछि र संस्थागत लगानीकर्ताको निकै न्यून चासो मात्र देखिएपछि साउन १३ गतेभित्र आवेदन दिनसकिने छ । 
 
लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम सीमाभित्र रहने गरी १० कित्ताको गुणाङ्कमा अधिकतम कित्तासम्म आवेदन गर्न सक्ने व्यवस्था मिलाइएको छ । 

नेपाल बैंकको एफपीओमा ८ मर्चेन्ट बैंकले अण्डरराइट गरेका छन् । सीबीआइएल क्यापिटल, ग्लोबल आइएमई क्यापिटल, एनआइबिएल एस क्यापिटल, सिभिल क्यापिटल, लक्ष्मी क्यापिटल, सनराइज क्यापिटल, सानिमा क्यापिटल र नेपाल एसबीआई मर्चेन्ट बैंकिंग लिमीटेडले बैंकको एफपीओमा प्रत्याभूति गरेका हुन् । यसको अर्थ यो बैंकको एफपीओ सबै बिक्री भएन भने बिक्री नभएको सबै कित्ता यी ८ वटा मर्चेन्ट बैंकले प्रतिबद्धता जनाएअनुसारको प्रतिशतका आधारमा उठाउनुपर्नेछ ।