काठमाण्डौ । जजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा फागुन २५ गते २०७९ देखि आफ्नो निर्धारित उडानहरु पुनः सुरु गर्ने घोषणा गरेको छ।

जजिरा एयरवेजले भैरहवाबाट साप्ताहिक (हप्ता) रुपमा ३ वटा उडान गर्नेछ।

जजिराले भैरहवाबाट कुवेतका लागि मंगलबार, बिहीबार र शनिबार नेपाली समयअनुसार बिहान ८ः०५ बजे उडान भर्नेछ भने कुवेतमा स्थानीय समयअनुसार बिहान १०ः५५ बजे अवतरण गर्नेछ। यसका साथै जजिरा एयरवेजले भैरहवादेखि कुवेतसम्म रु.२८ हजारको विशेष प्रारम्भिक एकतर्फी उडानका भाडा कायम गरेको छ।

नेपालस्थित जजिरा एयरवेजका जनरल सेल्स एजेन्ट तथा सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसका अध्यक्ष रविचन्द्र सिंहले भने, ‘नेपालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपालको समग्र पर्यटनमा सहयोग गर्ने जजिरा एयरवेजको प्रतिबद्धताअनुसार नै हामीले  मध्यपूर्वमा बसोबास गर्ने विशेषगरी भारतीय नागरिकहरुका बीचमा लुम्बिनिलाई भगवान बुद्धको जन्मस्थल साथसाथै आध्यात्मिक गन्तव्यको रुपमा प्रवर्द्धन गर्दैछौँ। यस प्रवर्द्धनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अधिकतम आगमन सुनिश्चित गर्नुका साथै सम्पूर्ण पश्चिम भेगको पर्यटकीय परिस्थितिमा र राष्ट्रको समग्र आर्थिक वृद्धिमा सहयोग पुर्याउँछ भन्नेमा हामी विश्वस्त छौँ।

यसको साथै नेपालमा जजिरा एयरवेजको उडान सञ्चालनमा निरन्तर सहयोग र प्रोत्साहन पुर्याएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरणप्रति जजिरा एयरवेजले कृतज्ञता प्रकट गरेको छ।