काठमाण्डौ । देशव्यापी रुपमा डिजिटल बैंकिङ को प्रयोगलाई प्रोत्साहन गर्ने नीतिअनुसार नेपाल बैंकर्स संघको प्रदेश २ को प्रादेशिक समितिको आयोजनामा मंगलबार जनकपुरमा रहेका वाणिज्य बैंकहरुले ३०० भन्दा बढी मर्चेन्टहरुलाई क्यूआर कोड हस्तान्तरण गरेको छ। 

क्यूआर कोड हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि प्रदेश २ का सामाजिक विकासमन्त्री नवल किशोर साहले सबैले डिजिटल बैंकिङमा जोड दिनुपर्ने बताए। 

कार्यक्रममा विशिष्ठ अतिथि गभर्नर, महाप्रसाद अधिकारीले क्विक रिस्पोन्स (क्यूआर) कोडमार्फत हुने भुक्तानीलाई देशव्यापी अभियानका रुपमा विस्तार गरिने धारणा व्यक्त राखे। यो प्रविधिले नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने र मुलुकको आर्थिक र सामाजिक रुपान्तरणमा समेत ठूलो योगदान पुर्याउने उनले बताए। 

कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा  जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिए। जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष लालकुमार साहले पनि कार्यक्रमको सरहाना गरे। 

कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले देशभर ‘डिजिटल नेपाल’ को प्रवर्द्धनमा नेपाल राष्ट्र बैंकसँग मिलेर अगाडि बढ्न बैंकहरु तयार रहेको जानकारी दिए। क्यूआर कोडको प्रयोग अहिलेको कोभिड–१९ को महामारीको बेलामा झनै उपयोगी सावित हुने पनि उनले बताए। 

कार्यक्रममा उद्योगीव्यवसायीहरु, बैंकका प्रदेश प्रमुखहरुलगायत विभिन्न वाणिज्य बैंकका प्रमुख तथा पदाधिकारीको उपस्थिति थियो।