काठमाण्डौ । समृद्धि फाइनान्सले आफ्नो आठौँ शाखा जनकपुर विस्तार गरेको छ। उक्त शाखा कार्यालयको उद्घाटन आज एक औपचारिक कार्यक्रम गरिएको छ। 

कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले जनकपुर शाखा कार्यालयको औपचारिक उद्घाटन गरेका छन्। कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, उपमेयर किशोरी साह, जनकपुर उवासंघका अध्यक्ष जितेन्द्रकुमार महासेठ, नेपाल राष्ट्र बैंककी सञ्चालक नीरा ताल्चाभडेललगायतको उपस्थिति थियो। 

कार्यक्रमको अध्यक्षता फाइनान्सका अध्यक्ष ठाकुरप्रसाद भट्टराईले गरेका थिए। भने प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनीले स्वागत मन्तव्य राख्दै फाइनान्सको वित्तीय कारोबारसम्बन्धी जानकारी गराएका थिए। 

आजबाट समृद्धि फाइनान्सको ८ वटै शाखा कार्यालयबाट औपचारिक रुपमा कारोबार सञ्चालन भएको जानकारी फाइनान्सका प्रमुख व्यवसाय प्रबर्द्धन अधिकृत सुरजकुमार सर्राफले गराए। 

फाइनान्सले मुद्दति निक्षेप योजनाअन्तर्गत ६६ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ। यसका साथै फाइनान्सले ८ वर्ष ८ महिनामा पैसा तेब्बर, १२ वर्ष ८ महिनामा पैसा पाँचगुणा र १६ वर्ष ५ महिनामा पैसा आठगुणा हुने निक्षेप योजना पनि सञ्चालनमा ल्याएको छ।