काठमाण्डौ । माछापुच्छे बैंकसँग जारी मर्जर प्रक्रिया भाँडिएपछि पूँजीवृद्धिको योजनामा अलमलिएको जनता बैंक नेपालले राष्ट्रिय स्तरको त्रिवेणी विकास बैंकसँग मर्जरको सहमति गरेको छ । 

शुक्रबार दुवै बैंक बीच मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । जनता बैंक नेपालका एक अधिकारी अनुसार आगामी कात्तिक १८ गतेदेखि दुवै बैंकको सेयर कारोबार रोकिनेछ ।

दुवै बैंकबीच सेयर स्वाप रेसियो समेत एक बराबर एक नै तय भएको बताइएको छ । 

माछापुच्छे बैंकसँग मर्जर भाँडिएपछि जनता बैंकले ५० प्रतिशत हकप्रद जारी गर्ने स्वीकृति पाइसकेको छ । बैंकले पाएको स्वीकृति अनुसार आगामी मंसिर १ गतेदेखि २ बराबर १ को दरले हकप्रद निश्कासन हुँदैछ । हकप्रद जारीपछि बैंकको चुक्तापुँजी ३ अर्ब ९ करोड पुग्ने बताइएको छ । 

यसैगरी, जनता बैंकसँग गाभिने सम्झौता गरेको त्रिबेणीको हाल ८२ करोड चुक्तापूँजी रहेको छ । यो बैंकले पनि ५० प्रतिशत हकप्रद जारीको प्रक्रिया अगाडि बढाइसकेको छ । त्रिवेणीले हकप्रद भन्दा पहिलेको चुक्ता पूँजीमा १९ प्रतिशत हाराहारीमा बोनस पनि जारी गर्नेछ । 

यसरी दुबै बैंकको चुक्तापूँजी जोड्दा मर्जरपछि झण्डै ५ अर्ब पुग्नेछ । अपुग चुक्तापूँजीका लागि बोनस सेयरसँगै भविष्यमा अन्य कुनै बित्तीय संस्थासँग समेत मर्जर गरिने बताइएको छ । 

नेपाल राष्ट्रबैंकले ०७४ असार मसान्तभित्र वाणिज्य बैंकले चुक्तापूँजी ८ अर्ब पुर्याउनुपर्ने नीतिगत व्यवस्था गरेको छ । यही कारण बैंक तथा बित्तीय संस्थाबीच मर्जर र एक्वीजिसनको लहर चलेको हो ।