काठमाण्डौ । जनता बैंक नेपाल र मेगा बैंकले निकै ठूलो संख्यामा कर्मचारी मागेका छन् । 

जनता बैंकले विभिन्न पदमा ६७ कर्मचारी मागेको छ भने मेगा बैंकले इन्ट्री पोजिसनमा फ्रेस जनशक्तिलाई टार्गेट गर्दै ४० कर्मचारी मागेको छ।

जनता बैंक नेपालले ७ जना ब्राञ्च म्यानेजर मागेको छ । ताप्लेजुङ, फिदिम, दमक, तौलिहवा, तम्घास,भैरहवा र धनगढीका लागि ब्राञ्च म्यानेजर मागिएको हो । 

बैंक तथा वित्तीय संस्थामा ब्राञ्च म्यानेजरकै रुपमा १ वर्ष काम गरेको तथा म्यानेजमेन्ट वा अर्थशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेकोले यो पदमा आवेदन दिन पाउने बैंकले जनाएको छ । 

बैंकले हेटौडा, गीतानगर, वीरगञ्ज, भैरहवा, चन्द्रौटा, कलंकी, कुलेश्वर, कुपण्डोल, भक्तपुर, नेपालगञ्ज, घोराही र विर्तामोड लगायतका शाखाका लागि १२ रिलेसनीप म्यानेजरका लागि समेत जागिरको अवसर खुलाएको छ । यही पदमा बैंक तथा वित्तीय संस्थामा काम गरेको १ वर्ष अनुभवप्राप्त तथा म्यानेजमेन्ट र अर्थशास्त्र विषयमा स्नातकोत्तर गरेकाले यो पदमा आवेदन दिन सक्ने बताइएको छ । 

काठमाण्डौको क्षेत्रीय अफिसदेखि देशका विभिन्न शाखाका लागि २८ जना असिस्टेन्ट रिलेसनसीप म्यानेजर मागिएको छ । सोही पदमा १ वर्ष काम गरेको अनुभवी र म्यानेजमेन्ट वा अर्थशास्त्रमा स्नातक उत्तीर्णले यो पदमा आवेदन दिन सक्नेछ ।

बैंकले मोफसलका विभिन्न शाखाहरुका लागि १४ अपरेशन इञ्चार्ज, हेड अफिसको स्वीफ्ट डिपार्टमेन्टमा काम गर्ने गरी २ जना अफिसर, विभिन्न शाखामा काम गर्ने गरी अपरेसन विभागका ४ असिस्टेन्ट समेत मागिएको छ । 

यसैबीच, मेगा बैंकले चाहि फ्रेस जनशक्तिका लागि दुई पदमा ४० कर्मचारी मागेको छ । 

म्यानेजमेन्ट ट्रेनीतर्फ १० जना र ट्रेनी असिस्टेन्टतर्फ ३० जना कर्मचारी मागिएको हो । 

सम्बद्ध विषयमा मास्टर डिग्रीसम्मको अध्ययन पूरा गरेको र ३० वर्ष ननाघेकोले म्यानेजमेन्ट ट्रेनी र सम्बन्धित विषयमा स्नातक उत्तीर्ण गरी ३० वर्ष ननाघेकोले ट्रेनी असिस्टेन्ट पदका लागि आवेदन दिन सक्नेछन् ।