काठमाण्डौ । जनता बैक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तरर्गत दुई संस्थालाई ७ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।

बैंकले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान भैरहवालाई आँखा उपचारसम्बन्धी क्रोनियलटोपोग्राफी मेसिन खरिद प्रयोजनार्थ रु. ४ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ । उक्त सहयोग रकमको चेक मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले संस्थानका अध्यक्ष सागर प्रताप राणालाई हस्तान्तरण गर्नुभयो । नेपाल नेत्रज्योती संघबाट संचालित उक्त संस्थान यस क्षेत्रको प्रमुख आँखा उपचार केन्द्रका रुपमा रहेको छ ।

यसैगरी बैंकले सुदूरपश्चिम प्रदेशको अछाममा रहेको श्री वैद्यनाथक्षेत्र विकास संस्थालाई अक्षयकोष प्रयोजनार्थ रु. २ लाख ५१ हजार सहयोग उपलब्ध गराएको छ । उक्त रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले संस्थाका संस्थापक संरक्षक सुरतबहादुर थापा र संरक्षक तथा पूर्वप्रहरीमहानिरीक्षक मोतीलाल बोहरालाई हस्तान्तरण गर्नुभयो । संस्थाले अछामको वैद्यनाथ क्षेत्रमा २०५५ सालदेखि श्री वैद्यनाथ वेद विद्याश्रम सञ्चालन गरिरहेको छ । उक्त सहयोग रकम विद्याश्रममा अध्ययनरत वटुकहरुको सहयोगका लागि खोलिएको अक्षयकोषमा जम्मा गरिनेछ । 

जनता बैंक नेपाल लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड एक आपसमा गाभिई यही मंसिर २० गतेदेखि एकिकृत कारोवार गर्न गइरहेका छन् । दुवै बैंक गाभिएपछि ग्लोबल आइएमई बैंक लिमिटेड रु. २४ अर्ब भन्दा बढी प्राथमिक पुँजी, २ खर्ब ४ अर्ब बचत, रु. १ खर्ब ९४ अर्ब कर्जा लगानी तथा ८५० भन्दा बढी सेवा केन्द्र भएको देशकै ठूलो बाणिज्य बैंकका रुपमा स्थापित हुनेछ ।