काठमाण्डौ । जनता बैक नेपाललिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, भैरहवालाई आँखा उपचार सम्बन्धी क्रोनियल टोपोग्राफी मेसिन खरिद प्रयोजनार्थ रु. ४ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ ।

उक्त सहयोग रकमको चेक आज बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका अध्यक्ष सागर प्रताप राणालाई हस्तान्तरण गरे । नेपाल नेत्र ज्योति संघबाट संचालित लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान यस क्षेत्रको प्रमुख आँखा उपचार केन्द्रको रुपमा रहेको छ ।

यसै गरी बैंकले सुदुरपश्चिम प्रदेशको अछाममा रहेको वैद्यनाथ क्षेत्र विकास संस्थालाई अक्षयकोष प्रयोजनार्थ रु. २ लाख ५१ हजार सहयोग उपलब्ध गराएको छ । उक्त रकमको चेक प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले  वैद्यनाथ क्षेत्र विकास संस्थाका संस्थापक संरक्षक सुरतबहादुर थापा र संरक्षक तथा पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहरालाई हस्तान्तरण गरे । उक्त संस्थाले अछाम जिल्लाको वैद्यनाथ क्षेत्रमा बि.सं. २०५५ साल देखि वैद्यनाथ वेदविद्याश्रम संचालन गरिरहेको छ । उक्त सहयोग रकम विद्याश्रममा अध्ययनरत वटुकहरुको सहयोगको लागि खोलिएको अक्षयकोषमा जम्मा गरिनेछ ।