काठमाण्डौ । आपसमा गाभिएका ग्लोबल आईएमई बैंक र जनता बैंक नेपाल लिमिटेडको एकीकृत कारोबार भोलि शुक्रबारदेखि सुरु हुँदैछ ।

यस्तोमा जनता बैंकका खाताधारीहरु अलमलमा पर्न सक्लान् कि पुरानो खाता नम्बर र चेक बुक के हुने भनेर । आफ्ना ग्राहक अलमल तत्कालै मेटाउन जनता बैंकले एकीकृत कारोबार सुरु भएपछि नजिकैको ग्लोबल आईएमई बैंकमा गएर नयाँ खाता नम्बर लिन अनुरोध गरेको छ ।

बैंकले बिहीबार सूचना जारी गर्दै संयुक्त कारोबारपश्चात हाल कायम रहेको खाता नम्बर परिवर्तन हुने भएकोले आफूलाई पायक पर्ने ग्लोबल आईएमई बैंकको शाखा कार्यालयमा सम्पर्क राखी नयाँ खाता नम्बर लिन अनुरोध गरेको हो। खाता नम्बर परिवर्तन भए पनि साविक जनता बैंकबाट जारी भएका चेक तथा एटीएम कार्डहरुबाटै समायावधि समाप्त नभएसम्म रकम भुक्तानी हुने बैंकले स्पष्ट पारेको छ ।

यसैगरी इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङहरु पनि साविककै युजर नेम र पासवर्ड प्रयोग गरी ग्लोबल आईएमई बैंकको इन्टरनेट तथा मोबाइल एपबाट चलाउन सक्ने बैंकले जनाएको छ ।

भोलिदेखि एकीकृत कारोबार सुरु हुने भएपछि दुवै बैंकको सम्पूर्ण कारोबार आज बिहीबार बन्द छ । ग्लोबल आईएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएकोले डाटा माइग्रेट गर्नका लागि सम्पूर्ण बैंकिङ कारोबार एक दिन बन्द गरिएको हो ।

यसअघि दुवै बैंकको गत मंसिर २ गते सम्पन्न वार्षिक साधारणसभाले आपसमा गाभिने विशेष प्रस्ताव पारित गर्दै स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक र कम्पनी रजिस्ट्रारको कार्यालयमा संयुक्त निवेदन दिएका थिए ।

दुवै निकायबाट अन्तिम स्वीकृति प्राप्त भएपछि दुवै बैंकले आउँदो शुक्रबारदेखि एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । बैंकको केन्द्रीय कार्यालय काठमाण्डौको कमलादीमा रहनेछ ।

मर्जरपछि बैंकको सञ्चालक समितिमा ग्लोबलका पाँचजना र जनता बैंकका दुईजना हुनेछन् । एकीकृत बैंकको अध्यक्षमा चन्द्रपसाद ढकाल नै हुनेछन् । सीईओमा जनताका पर्शुराम कुँवर क्षेत्री रहनेछन् ।

ग्लोबल आईएमई बैंक र जनता बैंकबीच १:०.८५ सेयर स्वाप अनुपातमा मर्जर प्रक्रिया टुंगिएको हो ।