काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको आईपीओ बाँडफाँड पर्सि मंगलबार हुने सम्भावना रहेको छ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडका एक अधिकारीका अनुसार जनरल इन्स्योरेन्स कम्पनीमा प्राप्त आवेदनको तथ्यांक रुजू भइरहेको र आज प्रिअलटमेन्ट गर्ने तयारी भइरहेको छ। ‘मंगलबार चाहिँ आईपीओ बाँडफाँट गर्ने तयारी भइरहेको छ, सम्भवतः मंगलबार हुने सम्भावना अधिक छ’, ती अधिकारीले बिजशालासँग भने ।

दोहोरो आवेदन तथा संस्थागत लगानीकर्ताहरुले समेत आईपीओमा आवेदन गर्ने हुनाले क्यापिटलले आईपीओमा परेका आवेदन रुजु गर्ने गर्दछन् ।

कम्पनीले गत असोज ११ गतेदेखि असोज १४ गतेसम्म रु. १०० अंकित दरका ३० करोड रुपैयाँबराबरको आईपीओ बिक्री गरेको थियो। जसमा १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो। बाँकी २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्। 

क्यापिटलका अनुसार आईपीओमा ८ लाख १३ हजार ७२५ आवेदकबाट २ करोड २४ लाख ७७ हजार ३० कित्ताका लागि आवेदन परेको छ। जुन मागभन्दा करिब ८ गुणा बढी कित्ताका लागि आवेदन हो। 

यो हिसाबले अब आईपीओ बाँडफाँड गोलाप्रथाबाट हुने भएको छ। जसअनुसार २ लाख ७३ हजार आवेदकले मात्र १० कित्ताका दरले सेयर पाउनेछन्। 

कम्पनीको चुक्तापुँजी ७० करोड रुपैयाँ रहेको छ। चुक्तापुँजी १ अर्ब रुपैयाँ पुर्याउन कम्पनीले ३० प्रतिशतबराबरको आईपीओ निष्कासन गरेको हो।