काठमाण्डौ । धितोपत्रको दोस्रो बजार प्रभावित पार्न पछिल्लो समय अडलटमा कारोबार गर्ने प्रवृत्ति दिनानुदिन बढिरहेको छ ।

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड(जीआइसी)को सेयर यही साता नेप्सेमा सूचीकृत भई दोस्रो बजारमा नियमित कारोबार भइरहेको छ, तर गत बुधबार स्टक ब्रोकर नम्बर ४ ओपल सेक्युरिटीजबाट १० कित्ता टुक्र्याएर १ कित्ता र ९कित्ता गरी सेयर किनबेच भयो । 

यसैगरी हिजो बिहीबार पनि जनरल इन्स्योरेन्स कम्पनीको स्टक ब्रोकर नम्बर २८ श्रीकृष्ण सेक्युरिटीजबाट २ कित्ता र ८ कित्ता सेयर कारोबार भयो । 

हिजै नै स्टक ब्रोकर नम्बर १६ प्राइमो सेक्युरिटीजबाट पनि २ कित्ता सेयर मात्र किनेबेच भयो ।

धितोपत्र कारोबार सञ्चालन विनयमावली,२०७५ को विनियम५(३) मा उपनियम(१) र (२ं)मा कारोबार इकाइ वा सोभन्दा  बढी धितोपत्र भएका धितोपत्र धनीले त्यस्तो धितोपत्रलाई अडलट बनाई बिक्री गर्न नपाइने व्यवस्था छ ।

यस पटकको मामलामा भने स्टक ब्रोकरबाट नभई लगानीकर्ताबाट अडलटको सेयर कारोबार भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको र यो घटनाका विषयमा थप अध्ययन र छलफल भइरहेको र चाँडै  निर्णयमा पुग्ने  नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुली बताउँछन् ।

यस्तै प्रकृतिको घटनामा गत साउन २१ गते नेप्सेले स्टक ब्रोकर नम्बर ४४ डाइनामिक मनी मेनेजर्स सेक्युरिटीज प्रालिलाई सदस्यता निलम्बन गरी कारोबार रोक्का राख्ने सजायको व्यवस्था गरिएको नजिर छ ।