काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा डोकेको छ। 

कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही जेठ ३१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको डिल्लीबजारस्थित अमृतभोगमा बिहान ११ बजेबाट हुनेछ।

सभाले बीमा समितिको स्वीकृति लिई चुक्तापुँजीको ३० प्रतिशत अर्थात १ः०.३ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

सभाले कम्पनीको अधिकृत पुँजी, चुक्तापुँजी र जारी पुँजी वृद्धि गर्नेसम्बन्धी विशेष प्रस्ताव अनुमोदन गर्नेछ। निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनी गाभ्ने, गाभिने वा प्राप्ति गर्नेसम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी अनुमोदन गर्नेछ। 

सभा प्रयोजनका लागि कम्पनीले जेठ १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ १८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको सभामा भाग लिन योग्य हुनेछन्।