काठमाण्डौ । चालु आर्थिक वर्षको बजेट निर्माणका विषयमा पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि गरिएको छानबिनको प्रतिवेदन संसदीय विशेष समितिले आज दिउँसो ३ बजे सभामुख अग्नि सापकोटालाई बुझाउने भएको छ।

पूर्वअर्थमन्त्री शर्मामाथि बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दरमा हेरफेर गरेको आरोप लागेको छ। यस सम्बन्धमा छानबिन गर्न प्रतिनिधिसभाबाट गत असार २२ गते गठित विशेष समितिले तयार पारेको प्रतिवेदन सभामुख सापकोटालाई बुझाउने तय भएको हो। 

समितिले १७ दिन लगाएर पूर्वअर्थमन्त्री शर्मामाथि लागेको आरोपका विषयमा छानबिन गरेको थियो। यो समितिको समयावधि बिहीबार सकिएको थियो।

शर्मामाथि बजेटको अघिल्लो राति १४ जेठमा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दरमा हेरफेर गरेको आरोप लागेको छ। 

समितिले शर्माविरुद्ध लागेको आरोप प्रमाणित गर्ने प्रमाण जुटाउन नसकेको बताइएको छ। शर्मा र अर्थ मन्त्रालयमा रहेका कर्मचारीसँगको बयान तथा मन्त्रालयको सीसीटीभी फुटेजबाट आरोप प्रमाणित हुने प्रमाण फेला नपरेको स्रोत बताउँछ। ‘प्रतिवेदन आजकै संसद बैठकमा पेस गर्ने तयारी भइरहेको छ’, स्रोतले भन्यो।