काठमाण्डौ। विश्व बैंकले जलवायु परिवर्तनका कारण सन् २०५० सम्ममा विश्वका २० करोडभन्दा बढी मानिसले आफूले बसोबास गरिरहेको बासस्थान छाड्न बाध्य हुने अवस्था आउने जनाएको छ।

विश्व बैंकले सार्वजनिक गरेको ग्राउन्डसवेल प्रतिवेदनको दोस्रो भागका अनुसार जलवायु परिवर्तनका लागि तत्कालै कुनै कदम नचालिए अबको ३ दशकसम्ममा २० करोडभन्दा बढी मानिस आफूले बसोबास गरिरहेको बासस्थान छोड्न बाध्य हुनेछन्। बसाइसराइको ‘हटस्पट’ सिर्जना गर्ने प्रतिवेदनमा जनाइएको छ।

प्रतिवेदनका अनुसार जलवायु परिवर्तनका प्रभावहरु जस्तै पानीको अभाव, बालीनालीको उत्पादकत्वमा कमी र समुद्र तथा महासागरमा बढ्ने पानीको सतहका कारण करोडौँ मानिसले बासस्थान छोड्नुपर्ने हुन सक्छ। यसरी बसोबास गर्नेहरुलाई ‘क्लाइमेट माइग्रेन्टस’ को नाम दिइएको छ।

६ वटा भौगोलिक क्षेत्रहरुलाई आधार मानेर गरिएको विश्लेषणमा हरित ग्यास उत्सर्जनको बढ्दो मात्रा र असमान विकासका कारण २१ करोड ६० लाख मानिस आफ्नै देशभित्र बसाइसराइ गर्ने उल्लेख गरिएको छ। यी क्षेत्रमा लेटिन अमेरिका, उत्तर अमेरिका, उपसहारा अफ्रिका, पूर्वी युरोप, मध्य एसिया, दक्षिण एसिया, पूर्वी एसिया र प्यासेफिक क्षेत्र छन्।

ग्यास उत्सर्जनको मात्रा कम र समावेशी विकाससहितको वातावरणमैत्री अवस्थामा भने बसाइसराइ गर्नेको संख्या ८० प्रतिशतले कमी आउने प्रतिवेदनमा जनाइएको छ। यो अवस्थामा अझै पनि ४ करोड ४० लाख मानिस बसाइसराइ गर्ने अनुमान गरिएको छ। 

रिपोर्टले जलवायु परिवर्तनका कारण अल्पकालीन प्रभावहरुजस्तै मौसमको चरम घटनाहरुमा पार्ने प्रभावहरुका बारेमा भने केही उल्लेख गरेको छैन। – एजेन्सी