काठमाण्डौ । जलवायु परिवर्तनको असरले दक्षिण एसियाली मुलुकहरुमा पानीका विषयमा विवाद उत्पन्न हुन सक्ने बताइएको छ। पानी विवाद नै ‘भूराजनीतिक’ तनावको मुख्य कारक बन्न सक्ने अनुमान गरिएको छ।  

अमेरिकाको अफिस अफ नेसनल इन्टेलिजेन्स (ओडीएनआई) हालै सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो अनुमान गरिएको हो। प्रतिवेदनअनुसार ११ मुलुकमा जलवायु परिवर्तनको व्यापक असर पर्नेछ। भारत, पाकिस्तान, अफगानिस्तान, म्यानमार, इराक, उत्तर कोरिया, ग्वाटेमाला, हैटी, होन्डारस, निकारागुआ र कोलम्बियालाई ‘चिन्ताजनक’ देशको श्रेणीमा राखिएको छ। 

बढ्दो तापमान, पानीको अनुपलब्धता र अप्रभावी सरकारका कारण अफगानिस्तानको स्थिति झनै चिन्ताजनक रहने प्रतिवेदनमा जनाइएको छ। ‘भारतसहित दक्षिण एसियाका अन्य मुलुकहरुमा पानीका विषयमा विवाद हुन सक्छ’, ओडीएनआईका एक अधिकारीले भने, ‘यही पानी विवाद भूराजनीतिक तनावको मुख्य कारक बन्न सक्छ।’

प्रतिवेदनअनुसार जलवायु परिवर्तनका कारण मध्यअफ्रिका र प्रशान्त क्षेत्रका साना देशहरुमा अस्थिरताको खतरा बढ्न सक्छ। जसको असर विश्वका सबैभन्दा गरिब आवादीमा पर्न सक्ने प्रतिवेदनमा उल्लेख छ। – एजेन्सी