– प्रकाश न्यौपाने

काठमाण्डौ । नेप्से उपसमूहमा १३ वटा समूह छन्। तीमध्ये सबैभन्दा धेरै बजार पुँजीकरण वाणिज्य बैंक समूहको रहेको छ। आज वाणिज्य बैंक समूहको उच्च कारोबार भए पनि पछिल्लो लामो समयदेखि भने जलविद्युत समूहको उच्च कारोबार भइरहेको थियो। 

पछिल्लो समय देशमा विद्युतको आवश्यकता र महत्व बढ्दै गएको छ। सरकार र निजी क्षेत्रले विद्युत उत्पादनलाई उच्च महत्व दिइरहेका छन्। 

हाल दोस्रो बजारमा ६८ वटा जलविद्युत कम्पनीहरुको कारोबार हुने गरेको छ। विद्युत उत्पादनमा लागत जुटाउनका लागि जलविद्युत कम्पनीहरुले प्राथमिक सेयर र हकप्रद निष्कासनको बाटो अपनाउन थालेदेखि सेयर बजारमा कारोबार हुने जलविद्युत कम्पनीहरुको संख्या र कित्ता बढ्दै गएको छ। 

बजार जानकार केशव कोइरालाले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा समस्या देखिन थालेपछि लगानीकर्ताहरु जलविद्युत कम्पनीहरुको सेयरमा आकर्षित भएको बताउँछन्। ‘अहिले बजारमा थुप्रै जलविद्युत कम्पनी छन्, सेयरभाउ कम मूल्यदेखि बढी मूल्यसम्मका छन्’, उनले भने, ‘लगानीकर्ताले रोजी–रोजी किन्न सक्ने भएकोले जलविद्युत कम्पनीहरुतिर लागेका छन्।’

कोइरालाका अनुसार नाफामा गइसकेका जलविद्युत कम्पनीहरुले लाभांश दिनेमा लगानीकर्ताहरु ढुक्क देखिन्छन्। ‘कतिपय जलविद्युत कम्पनीहरुको सेयर संख्या भएका कारण सेयरमूल्यमा उतारचढाव ल्याउन सजिलो हुने भएकोले ठूला लगानीकर्ताहरु जलविद्युत कम्पनीहरुमा झुम्मिएका हुन सक्छन्’, उनले भने। 

पछिल्लोपटक बुलमा जलविद्युत समूहको सबैभन्दा बढी उतारचढाव भएको कोइराला बताउँछन्। ‘त्यतिबेला जलविद्युत कम्पनीका सेयर किनेकाहरु र अहिले प्रवेश गरेका नयाँ लगानीकर्ता पनि जलविद्युत समूहमै खरिद–बिक्रीमा लागेको देखिन्छ’, उनी भन्छन्। 

सेयर बजारका पुराना लगानीकर्ता हरि घिमिरे दोस्रो बजारमा जलविद्युत कम्पनीको सेयर संख्या कम रहेको बताउँछन्। ‘सेयर संख्या कम भएका कम्पनीमा लगानी गर्दा सेयरमूल्य सजिलै तल–माथि हुने हुँदा ठूला लगानीकर्ताले समेत तल आउँदा खरिद गर्ने र केही माथि जाँदा नाफा बुक गर्ने गरेका छन्’, उनले भने। 

दोस्रो बजारमा कारोबार हुने कतिपय जलविद्युुुुुत कम्पनीहरु नाफामा रहेको घिमिरे बताउँछन्। ‘विद्युत उत्पादन गरी रिजर्भ बलियो भएका कम्पनीबाट लगानीकर्ताले थोरै भए पनि लाभांश पाउने पक्का देखिन्छ’, उनले भने, ‘त्यसैले जलविद्युत कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ।’

राष्ट्र बैंकले मर्जरको नीति लिएपछि वाणिज्य बैंकहरु संख्या घटेको छ। ‘मर्जरसम्बन्धी कार्यविधि आउनुअघि बैंकहरु मर्जरमा जाँदा लामो समयसम्म सेयर कारोबार रोकिन्थ्यो’, घिमिरेले भने, ‘त्यसले पनि लगानीकर्तामा अन्यौल छायो। कुन बैंक मर्जरमा जाने हो र लामो समय खरिदबिक्री गर्नबाट लगानीकर्ता वञ्चित हुने हो भन्ने डरले गएको बुलमा पनि बैंकहरुको सेयरमा लगानीकर्ता खासै आकर्षित भएनन्।’

पछिल्लो समय राष्ट्र बैंकको नीतिका कारण बैंक, विकास बैंक, फाइनान्स र लघुवित्त संस्थाका सेयरमा लगानीकर्ताको आकर्षण घट्दै गएको अर्का लगानीकर्ता मनीष दवाडी बताउँछन्। ‘अहिले बंैक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढ्ने हो कि भन्ने डर लगानीकर्तामा देखिन्छ’, दवाडीले भने, ‘त्यही भएर छोटो समयका लागि लगानीकर्ता जलविद्युत कम्पनीहरुमा लगानी गरिरहेका छन्।’ 

वैशाखबाट कर्जाको पनि ब्याजदर घट्दै जाने हुनाले ऋणमा रहेका जलविद्युत कम्पनीलाई पनि केही सहज हुँदै जाने दवाडीको अनुमान छ। ‘छिटो नाफा कमाउन सकिने देखेर पनि लगानीकर्ताको ध्यान अहिले जलविद्युत कम्पनीहरुमा परेको देखिन्छ।’