काठमाण्डौ । भारतीय सेयर बजारबाट कमाइ गरेर अर्बौंको सम्पत्ति जोड्नेमा राकेश झुनझुनवालाको नाम पहिलो स्थानमा आउँछ। यही कारण भारतीय सेयर बजारमा उनलाई ‘बिग बुल’ पनि भनिन्छ। 

झुनझुनवालाले ‘बिग बुल’को उपमालाई एकपटक सही साबित गरेका छन्। उनको होल्डिङमा समावेश धेरै कम्पनीका सेयरले बिहीबार कमाल गर्यो। तर, तीमध्ये दुईवटा कम्पनीको सेयरमा यस्तो शानदार उछाल आयो कि उनको सम्पत्ति एकैदिन करिब भारु १ हजार ६१ करोड रुपैयाँ बढ्न पुगेको छ।

झुनझुनवालाको पोर्टफोलियोमा सबैभन्दा धेरै भ्याल्यू भएको दुई स्टक टाइटन र स्टार हेल्थ एन्ड एलाइड इन्स्योरेन्स छन्। बिहीबारको कारोबारमा यी दुवै कम्पनीको सेयरमा बम्पर उछाल आएको थियो। टाइटनको सेयरमूल्यमा झन्डै ८ प्रतिशत र स्टार हेल्थको सेयरमा १६ प्रतिशतभन्दा बढी बढोत्तरी भएको थियो। 

भारतको ‘वारेन बफेट’ नामबाट चर्चित राकेश झुनझुनवालाको कुल नेटवर्थमा यी दुई कम्पनीको सेयरको ठूलो योगदान रहेको छ। 

बीएसईमा बिहीबार टाइटनको सेयर भारु ११४.६० ले बढेर भारु २१२८ मा बन्द भएको थियो। कारोबारका क्रममा यो कम्पनीको सेयरभाउ एकपटक भारु २१७०.९५ सम्म पुगेको थियो। त्यो हिसाबले यो कम्पनीको सेयरमा इन्ट्राडे ७.५ प्रतिशतको उछाल आएको थियो। 

पछिल्लो एक वर्षमा टाइटनको सेयर २३ प्रतिशतभन्दा बढीले उकालो लागिसकेको छ। अहिले यसको मार्केट क्याप भारु १८९२० करोड छ। यसको ५२ हप्ताको हाई भारु २७६७.६५ र ५२ हप्ताको लो भारु १६६१.८५ रहेको छ। 

यो कम्पनीमा राकेश झुनझुनवाला र उनी पत्नीको ५.०५ प्रतिशत हिस्सा छ। यसको मतलब कि झुनझुनवाला परिवारको यो कम्पनीमा ४ करोड ४८ लाख ५० हजार ९७० कित्ता सेयर रहेको छ। 

टाइटनको सेयरमा चालु वित्त वर्षको पहिलो त्रैमासमा उछाल आएको छ। यस अवधिमा यो कम्पनीको सेयरभाउ २०५ प्रतिशतले बढेको छ। यो स्टकले हर श्रेणीमा शानदार प्रदर्शन गर्न सफल रह्यो। 

अर्कोतर्फ बीएसआईमा बिहीबार स्टार हेल्थको सेयरमूल्य भारु ५४.२५ले बढेर भारु ५३०.२० पुगेको छ। अहिले यो कम्पनीको मार्केट क्याप भारु ३०५४४.८३ करोड नजिक पुगेको छ। यो कम्पनीमा राकेश झुनझुनवालाको मात्रै ८ करोड २८ लाख ८२ हजार ९५८ कित्ता सेयर अर्थात १४.४० प्रतिशत हिस्सेदारी रहेको छ। यो कम्पनीमा उनकी पत्नी रेखा झुनझुनवालाको ३.११ प्रतिशत अर्थात १७ लाख ८७ हजार ९७ कित्ता सेयर रहेको छ। 

यसरी दुवैको मिलाएर स्टार हेल्थको १७.५ प्रतिशत अर्थात १० करोड ७ लाख ५३ हजार ९३५ कित्ता सेयर रहेको छ। बिहीबार सेयरमूल्यमा आएको उछालले यो कम्पनीबाट मात्रै झुनझुनवालाको सम्पत्ति भारु ५४६.५९ करोडले बढेको छ। –एजेन्सी