एजेन्सी । हामीजस्तो अविकसित देशका लागि यो समाचार आश्चर्यजनक हुनसक्छ । सामान्य रोजगारी समेत नपाइने मुलुकको नागरिक भएको पीडा बोध गरेर वर्षेनी लाखौ युवा विदेशिइरहेका छन् । बेला बेला राज्यले रोजगारीको सिर्जना गर्ने नीति ल्याउनुपर्छ भन्ने आवाज समेत उठ्ने गरेकै छ । तर राज्य विकसित भयो र जनताप्रति जिम्मेवार रह्यो भने देशमै रोजगारीको वातावरण बन्न सक्छ । औद्योगिकरण भयो र लगानीको वातावरण बन्यो भने देशमै एकैदिनमा कयौंले रोजगारी पाउनसक्छन । विकसित देश जापान एउटा यसको सशक्त उदाहरण हो, जहाँ शुक्रबार एकै दिन ९ लाख १० हजार जनाले नयाँ रोजगारी पाएका छन् ।
 

हालै विभिन्न विश्वविद्यालय तथा विद्यालयको पढाई पूरा गरेका ९ लाख १० हजार युवा जापानीहरुले शुक्रबार जीवनकै पहिलो रोजगारी पाएका हुन् । विश्वविद्यालयबाट दीक्षित युवा मध्ये २,२३९ जनालाई टोयटा कम्पनीले मात्रै रोजगारी प्रदान गरेको छ । जुन गत वर्षको तुलनामा ७३५ जना बढी हो ।
 

नयाँ कामदारहरुको स्वागतको लागि टोयटा कम्पनीको मुख्य कार्यालय आइची केनमा एक विशेष कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै टोयटाका प्रमुख अकियो टोयोदाले टोयटा कम्पनी विश्वको सबैभन्दा उत्कृष्ट कम्पनी भएकोले यसलाई अझ अगाडि बढाउन र यसको साख बचाइराख्न नयाँ कामदारले पनि उत्कृष्ट र उल्लेखनीय प्रदर्शन गर्नेमा आफू आशावादी रहेको बताए ।

५०० भन्दा बढी रोजगार प्रदायक कम्पनीहरुले शुक्रबारका दिन युवालाई नयाँ अवसर दिलाए । यसरी नयाँ रोजगार दिने कम्पनीहरुमा निसान, जापान एयरलाईन्स लगायत रहेका छन् । उनीहरुले कार्यक्रमलाई भव्यता पूर्वक मनाएका थिए । कालो सुटमा भेला भएकाहरुले शुक्रबारलाई आफ्नो जीवनकै महत्वपूर्ण दिनका रुपमा मनाउने बताएका थिए । सो अवसरमा नयाँ कामदारहरुले कम्पनीको काममा लगाव दिने प्रतिबद्धता व्यक्त गरेका थिए । 
 

यसैगरी, जापानको अर्को प्रख्यात पानासोनिक कम्पनीले ६६९ जना नयाँ कामदारलाई रोजगारी दिएको छ । यो कम्पनी जापानको प्रमुख विद्युतीय सामाग्री उत्पादक गर्ने कम्पनी हो । ओशाकामा अवस्थित कम्पनीले पनि नयाँ कामदारहरुलाई स्वागत गर्ने क्रममा सन् २०१८ सम्ममा १० खर्ब येनको कारोबार गर्ने कम्पनीको लक्ष्यमा नयाँ कामदारहरुको भूमिका महत्वपूर्ण रहने बताएको छ । यसैगरी, जापानको सरकारी विमान सेवा जापान एयरलाइन्सले ५ सय जनालाई रोजगारी दिएको छ । जापानमा हरेक वर्षको अप्रिल १ लाई  युवा युवतीहरुले औपचारिक रुपमा पहिलो रोजगारी सुरु गर्ने दिनका रुपमा मान्ने गर्छन ।