दोलखा । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कार्यालय दोलखामा भ्रष्टाचार भएको भन्दै ताला लगाइएको छ । 

सोसाइटीले आफ्नो संस्थाको सात सिद्धान्त विपरीत संस्थाका सभापति टीकानारायण प्रधानले व्यापक आर्थिक अनियमिता गरेको भन्दै भीमेश्वर नगरपालिका–२ का पाँच राजनीतिक दल, वडा नागरिक मञ्चलगायत स्थानीयवासीले ताला लगाएका छन् । 

असार ३ गते नै जिल्ला प्रशासन कार्यालय दोलखा र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयलाई दोलखा रेडक्रसले गरेको काम कारबाहीमाथि छानबिन गर्न अनुरोध गरी लिखित पत्र दिँदासमेत बेवास्था गरेको भन्दै उनीहरुले ताला लगाएका हुन् । 

स्थानीयवासीले रेडक्रसजस्तो पवित्र संस्थाको नामलाई बदनामी कमाएर कमाइखाने भाँडो बनाएको भन्दै तालाबन्दी गरेको बताएका छन् । सोसाइटीका सभापति प्रधानले रेडक्रसले गरेको गाडी खरिदमा आर्थिक हिनामिना गरेको, भूकम्पका राहत बाँड्दा चामलदेखि त्रिपालसमेत हिनामिना गरेको आरोप राजनीतिक दल, नागरिक वडा मञ्च र स्थानीयवासीले लगाएका छन् । 

सभापति प्रधानले केही महिना अगाडि नयाँ गाडी खरिद गरेको भन्दै पुरानो गाडी खरिद गरेका थिए । उनले कार्यालको सामान खरिदसमेत नगर्ने र बिल भर्पाई मात्रै कार्यालयमा राख्नेसमेत गरेको थाहा पाएपछि आफूहरुले ताला लगाएको नेपाली काँग्रेस भीमेश्वर नगरपालिका वडा नं २ का वडा सभापति चरित्रकृष्ण जोशीले बताए । 

उनी भन्छन्–‘रेडक्रस संस्था नाफा कमाउने संस्था होइन तर सभापति प्रधानले कमाउने उद्देश्य राखेर काम गर्नुभयो । स्विस रेडक्रस सोसाइटी भूकम्पपिडितलाई सहयोग गर्ने भन्दै कार्यक्रम ल्याइयो तर पारदर्शीता कायम गरिएन ।’

नमुना घर निर्माणका लागि स्थानीयवासीलाई तालिम दिएर केही नमुना घर बनाउन लगाएको तर त्यसमा पनि व्यापक आर्थिक अनियमितता गरेको स्थानीय राजनीतिक दल, नागरिक वडा मञ्चहरुले आरोप लगाएका छन् । भूकम्पपश्चात् रेडक्रसले करिब एक सयभन्दा माथि कर्मचारी नियुक्ति गरेको छ । 

कर्मचारीको पूरै तलब नदिएको गुनासो आउँदासमेत विगतमा ढाकछोप गरेर मिलाईको थियो, नाम नभन्ने सर्तमा रेडक्रसका एक पदाधिकारीले भने–‘हामीले धेरै पटक कुरा उठायौँ सभापतिले कुरा सुन्नुभएन अहिले कार्यालयमा ताला लगाइएको छ यो बदनामीको विषय हो यसले रेडक्रसको छविलाई राम्रो गर्दैन ।’

यता नेकपा (एमाले)का नेता सन्तोष प्रधानले रेडक्रस सोसाइटीले भूकम्प पछाडि रेडक्रसले कति खर्च गरेको छ भनेर पटक पटक सभापतिलाई सार्वजनिक गरी आर्थिक पारदर्शी गर्न आग्रह गर्दासमेत बेवास्ता गरेका कारण आफूहरुले बाध्य भएर तालाबन्दी गर्नुपरेको बताए । 

स्थानीयवासीले रेडक्रसका पदाधिकारी र कार्यसमितिले चढ्दै आएको मोटरसाइकल र गाढीको साँचोसमेत खोसेर दातृ निकाय स्विस रेडक्रसलाई नै बुझाएको बताएका छन् । रेडक्रस सोसाइटीले गरेको कोरियन रेडक्रसको सहयोगमा सञ्चालित विगतको तीन वर्षे कार्यक्रममा पनि अनियमितता भएको भन्दै रेडक्रस केन्द्रले छानबिन समिति बनाएको थियो । 

कोरियन रेडक्रसको सहयोगमा सञ्चालित स्वास्थ्य र सरसफाइमा पनि अनियमितता भएको थियो । हाल पनि रेडक्रस सोसाइटीले आफ्नो पक्की भवन हुँदाहुँदै भाडामा अर्को भवन भाडामा लिएको समेत खुल्न आएको छ । उता सभापति प्रधानलाई भने पटक पटक सम्पर्क गर्दा सम्पर्कमा आउन चाहाँदैनन् । अन्य पदाधिकारीले भने आफूहरुलाई संस्थामा आएको आयोजना बारेमा केही थाहा नभएको र अध्यक्षलाई नै सोध्न अनुरोध गर्छन् । 

दोलखाका प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले सभापति र अन्य पदाधिकारीलाई आफूले गरेको कार्यको खर्चको विवरण सबै निकाय राखेर सार्वजनिक नगरे कारबाहीसमेत गर्ने बताए ।