काठमाण्डौ । लुम्बिनी प्रदेशस्थित जिल्ला अस्पताल गुल्मीले आफ्नो स्वास्थ्य सुचना प्रणाली थप परिस्कृत बनाएको छ। 

यसअन्तर्गत अस्पतालले आफ्नो इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टमलाई वेब वेस्ड सिस्टममा स्तरवृद्धि गरी बिरामीको महत्वपूर्ण स्वास्थ्य विवरण डिजिटल रुपमै राख्न सक्ने व्यवस्था गरेको छ। यसले बिरामीको रोगको निदान र उपचारको गुणस्तर बढाउन थप सहज हुनेछ।

उक्त स्वास्थ्य सुचना प्रणाली स्तरवृद्धिमा स्वास्थ्य बीमा तथा डिएचआइएस–२ इन्टिग्रेसन गरी दुई महत्वपूर्ण विशेषताहरु पनि कार्यान्वयन गरिएको छ। 

स्वास्थ्य बीमा बोर्ड प्रवर्द्धित स्वास्थ्य बीमामा आबद्व बिरामीहरुको इलिजिविलिटी अर्थात बाँकी बीमा सुविधा रकम हेर्ने सकिने र बीमा दाबी पनि ईएमआर सफ्टवेयरमार्फत डिजिटल रुपमै गर्न सकिने इन्टिग्रेटेड सिस्टम सुरु गरेको छ। 

बिरामीको प्रत्येक बिल स्क्यान गरी अपलोड गर्नु नपर्ने गरी स्वास्थ्य सूचना प्रणालीबाट सीधै बिरामीको बिल अपलोड गर्न सकिने भएको छ। यसले गर्दा समयको बचत हुनुका साथै विगतमा जस्तो तोकिएको समयसीमाभित्र बीमा दाबी गर्न नसक्दा अस्पतालले नोक्सान व्यहोर्नुपर्ने समस्याको समाधान हुनेछ। 

त्यसैगरी डिएचआइएस–२ इन्टिग्रेसनले अब अस्पताल सूचना प्रणालीलाई नेपाल सरकारको एचएमआईएस रिपोर्टिङ प्लेटफर्मसँग जोडेको छ। अस्पतालको मेडिकल रेकर्डरलाई अस्पतालको स्वास्थ्य सूचना प्रणालीमार्फत डीएचआईएस–२ प्लेटफर्ममा सीधै मासिक रिपोर्टहरु पठाउन सकिने भएको छ। यसले गर्दा विगतमा जस्तो प्रत्येक शाखाबाट डाटा संकलन गरी डीएचआईएस–२ प्लेटफर्ममा म्यानुअल डाटा इन्ट्री गर्नुपर्ने छैन। 

अस्पतालले बिरामीहरुको सहजतालाई मध्यनजर गर्दै अनलाइन अपोइन्टमेन्ट र पोर्टल सेवा पनि सुचारु गर्ने तयारी गरेको छ। यसमार्फत बिरामीहरुले अस्पतालमा कार्यरत आफूले चाहेको डाक्टरसँग मोबाइल वालेटमार्फत घरमै बसी अपोइन्टमेन्ट बुक गर्न र परामर्श शुल्क भुक्तानी गर्न सक्नेछन् र साथसाथै बिरामीहरुले आफ्नो ल्याब टेस्ट रिपोर्टहरु पनि घरमै बसी अनलाइनमार्फत हेर्न सक्नेछन्। 

यी सेवाहरु गुल्मी अस्पताल, निक साइमन्स इन्टिच्युट र अस्पतालहरुमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) सफ्टवेयर सेवा प्रदान गरिरहेको कम्पनी कोजेन्ट हेल्थको सहकार्यमा सञ्चालन गरेको हो। 

कोजेन्ट हेल्थ स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नव प्रवर्तन कम्पनी हो। कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ। 

कोजेन्ट हेल्थद्वारा निर्मित कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेबलगायत ई–अपोइन्टमेन्टजस्ता प्रविधि नेपालभरका १०० भन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन्।