काठमाण्डौ । श्रीमान् वा श्रीमतीमध्ये एकजनाको बिमा गर्दा दुवैले जोखिम बहनको कभर पाउने प्रडक्ट अब जीवन बिमा कम्पनीहरुले बिक्री गर्न नपाउने भएका छन् । 

बिमा समितिले बुधबार एक सर्कुलर जारी गर्दै दम्पत्ति बिमा लेख जारी नगर्न भनेको हो । 

पछिल्लो समय देशका जीवन बिमा कम्पनीबीच विवाहित दम्पत्तिलाई लक्षित गरी एकजनाले तिरेको प्रिमियमबाट आफ्नो जीवनसाथीलाई समेत बिमाको कभर हुने प्रडक्ट ल्याउने होडबाजी नै चलेको थियो । 

समितिको परिपत्रमा स्वीकृति लिएका र स्वीकृतिका लागि पेश हुने जीवन बीमालेखहरुमा पति र पत्नीको सुरक्षणको लाभ समावेश नगर्न भनिएको छ ।

बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बिजशालासँग कुरा गर्दै बीमाको सिद्दान्त र नीति विपरीत यस्ता प्रडक्ट बिक्री भइरहेकोले यसमा रोक लगाउन सो परिपत्र गरिएको प्रष्ट्याए । कुनै पनि बिमा प्रडक्टमा प्रिमियम नलिएर जोखिम बहन गर्ने भन्ने विषय बिमाको सिद्धान्त विपरीत हुने उनको प्रष्टोक्ति छ ।