काठमाण्डौ । जीवन बीमक संघ नेपालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत आइतबार  काठमाण्डौ इन्स्चिच्युट अफ चाइल्ड हेल्थ र समता एडुकेसन ट्रस्टलाई आर्थिक सहयोग गरेको छ। 

संघले काठमाण्डौ इन्स्चिच्युट अफ चाइल्ड हेल्थका तर्फबाट डा. भागवान कोइरालालाई ४० लाख रुपैयाँ र समता एडुकेसन ट्रस्टका तर्फबाट निर्देशक दीपक सन्जेललाई ३० लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ। 

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम संघका अध्यक्षलगायतका पदाधिकारीद्वारा बीमा समितिका अध्यक्ष र कार्यकारी निर्देशकसमेतको उपस्थितिमा काठमाडौंको रविभवनस्थित होटेल क्राउन इम्पेरियलमा सम्पन्न भएको थियो। 

समता एडुकेसन ट्रस्टले देशभरि ५० हजारभन्दा बढी आर्थिक हिसाबले कमजोर विद्यार्थीलाई शिक्षा र स्वास्थ्यमा सहज पहुँच बनाउने उद्देश्यले सबै प्रदेशमा विद्यालय सञ्चालन गरेको छ।

त्यसैगरी काठमाण्डौ इन्स्चिच्युट अफ चाइल्ड हेल्थले काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका–७ मा सहज र सुलभ मूल्यमा पेडियाट्रिक सुविधासहितका बाल अस्पताल बनाउने उद्देश्य लिएको छ भने नेपालको सातैवटा प्रदेशमा बाल अस्पताल निर्माण गर्ने उद्देश्य राखेको छ। 

जीवन बीमक संघ नेपालका अध्यक्ष निर्मल काजी श्रेष्ठले समाजलाई भलो हुने यस्ता कार्यमा आर्थिक सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्व जारी राख्ने बताए। 

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले राम्रो काम गर्ने समाजसेवी संस्थाहरुलाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको र संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सबै कम्पनीहरुले यस्ता कार्य गर्नुपर्नेमा जोड दिए।