काठमाण्डौ । गत आर्थिक वर्ष २०७७/७८ मा जीवन र निर्जीवन दुवै बीमा कम्पनीहरुका कुल बीमाशुल्क आर्जनमा बढोत्तरी भएको पाइएको छ। 

गत साउन १ गते बीमा समितिले गरेको स्थलगत निरीक्षणका क्रममा जीवन र निर्जीवन दुवै बीमा कम्पनीका कुल बीमाशुल्क आर्जन बढेको पाइएको हो। गत आर्थिक वर्ष जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब २० अर्ब ५५ करोड रुपैयाँ  र निर्जीवन बीमा कम्पनीहरुले कुल ३० अर्ब ९० करोड ६८ लाख रुपैयाँ गरी कुल १ खर्ब ५१ अर्ब ४५ करोड ९१ लाख रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेको पाइएको बीमा समितिद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 

बीमा समितिका अनुसार जीवन र निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्क अघिल्लो आर्थिक वर्षको तुलनामा क्रमशः २८.७१ प्रतिशत र १५.३५ प्रतिशतले बढी हो। गत आर्थिक वर्षमा जीवन बीमातर्फ १५ हजार ९६४ वटा बीमालेखबापत २ अर्ब २५ करोड २ लाख रुपैयाँ र निर्जीवन बीमातर्फ ८६ हजार ४४० वटा बीमालेखबापत २० अर्ब १४ करोड ५१ लाख रुपैयाँ माग दाबीको भुक्तानी हुन बाँकी रहेको विज्ञप्तिमा जनाइएको छ। 

गत आर्थिक वर्षमा जीवन बीमातर्फ ९ अर्ब ८८ करोड १४ लाख रुपैयाँबराबरका ६३ हजार वटा बीमालेखहरु व्यतित (सरेन्डर) भएको बीमा समितिले जनाएको छ।