काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले दोस्रोपटक लाभांश घटाएको छ। 

संस्थाको सञ्चालक समितिको आज बसेको बैठकले दोस्रोपटक आर्थिक वर्ष २०७८–७९को लाभांश घटाउने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकको निर्देशनमा लाभांश घटाउँदै संस्थाले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँको कुल १४.९९९२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा १४.२८५ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.७१४२ प्रतिशतले हुन आउने नगद लाभांश छन्। 

यसअघि गत फागुन ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको २८ प्रतिशतले हुन आउने बोसन सेयर र ९.३६८४ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) गरी कुल ३७.३६८४ प्रतिशत लाभांश प्रस्ताव गर्दै स्वीकृतिका लागि राष्ट्र बैंक पठाएको थियो। तर, राष्ट्र बैंकले बोनस सेयर र नगद लाभांश दुवै घटाउन संस्थालाई पत्राचार गरेको थियो।

राष्ट्र बैंककै निर्देशनअनुसार जीवन विकास लघुवित्तले चुक्तापुँजीको २६ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल ३३.१५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। अहिले यो लाभांश दर पनि संस्थाले घटाएको छ। 

यसैबीच संस्थाको सञ्चालक समितिले आफ्नो चौथो वार्षिक साधारणसभा पनि आह्वान गरेको छ।

वार्षिक साधारणसभा यही चैत ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा मोरङको कटहरीस्थित वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ। 

सोही सभाले प्रस्तावित लाभांश स्वीकृत गरेपछि सेयरधनीहरुले पाउनेछन्। 

सभाले बोनस सेयर जारी गरेपश्चात वित्तीय संस्थाको वित्तीय संस्थाको चुक्तापुँजी वृद्धि हुने भएकाले सोहीबमोजिम जारी तथा चुक्तापुँजी गरी रु. १ अर्ब १८ करोड २० लाख ३४ हजार २०० रुपैयाँ पुर्याउने सम्बन्धी प्रस्ताव पारित गर्नेछ। बोनस सेयर जारी गरेपश्चात वित्तीय संस्थाको जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकाले सोहीबमोजिम वित्तीय संस्थाको प्रवन्धपत्रको दफा ६(ख) र ६(ग) मा संशोधन गर्ने विशेष प्रस्ताव स्वीकृत गर्नेछ।

सभाले संस्थाले अन्य इजाजतपत्रप्राप्त कुनै एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु आपसमा गाभ्ने, गाभिने वा प्राप्ति गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने, सम्पत्ति तथा दायित्वको मूल्यांकन प्रतिवेदन तयार गर्न मूल्यांकनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने तथा गाभ्ने, गाभिने एवं प्राप्तिसँग सम्बन्धित प्रचलित कानुन तथा निर्देशनहरुअनुरुप अपनाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु गर्न गराउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान प्रस्ताव पारित गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले चैत १७ गतेदेखि चैत ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत १६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।