एजेन्सी । नेताको विरोध गर्ने र नेताप्रति आफ्नो आक्रोश व्यक्त गर्नका लागि पछिल्लो समय विश्वभरि जुत्ता प्रयोग गर्ने गरिएको छ । जुत्ता प्रदर्शन गरेर वा नेतातिर जुत्ता फाँकेर विरोध गर्ने र आक्रोश व्यक्त गर्ने काम विभिन्न देशमा विभिन्न समयमा हुने गरेका छन् । 

शनिवार भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले गरेको पत्रकार सम्मेलनमै जुत्ताको सामना गर्नुपर्यो । एक युवकले अरविन्दलाई लक्षित गरी जुत्ता देखाउनुको साथै प्रहार गर्ने असफल प्रयास गरे । 

तर केजरीवाल मात्र त्यस्ता नेता होइनन्, जसले जुत्ताको विरोध खाएका हुन् । अमेरिकाका शीर्ष नेतादेखि लिएर नेपाल जस्तो देशका नेताहरुले समेत जुत्ताको विरोधको सामना गर्नुपरेका थुप्रै घटनाहरु छन् । नेपालमा जनयुद्धकालमा भारतीय राजदूतलाई समेत माओवादी नेताले सार्वजनिक समारोहमै जुत्ता प्रहार गरेका थिए । एमाले नेता झलनाथ खनाललाई इटहरीमा र प्रचण्डलाई काठमाण्डौमै जनता तथा कार्यकर्ताले थप्पडै हानिदिएका थिए । 

विश्वभरि हुने गरेको जुत्ता प्रहार तथा जुत्ताको साहारामा हुने विरोधका केही घटना यसप्रकार छन् : 

भारतको बिहारका मुख्यमन्त्री जितनराम माझीमाथि सन् २०१५ जनवरी ५ मा जुत्ता प्रहार गरिएको थियो । 

सन् २००८ को डिसेम्बर महिनामा अमेरिकाका पूर्व राष्टपति जर्ज बुसमाथि एक अमेरिकी पत्रकारले कुराकानीकै क्रममा जुत्ता प्रहार गरेका थिए । त्यसपछि जुत्ता फ्याक्ने वा देखाएर विरोध गर्ने यो चलन विश्वभरि नै भाइरल बनेर गयो । सो बेला बुसमाथि एकपछि अर्को गर्दै जुत्ता प्रहार गर्ने मुन्तजर अल जैदी नामका युवक रातारात हिरो बनेका थिए ।

 

सन् २००९ को फेब्रुअरीमा लण्डनको भ्रमणमा गएका तत्कालीन चिनिया राष्टपति बेन जियाओलाई लक्षित गर्दै क्याब्रिज विश्वविद्यालय परिसरमा एक विद्यार्थीले जुत्ता फाकेका थिए । 

यही वर्ष भारतमा कांग्रेस नेता नवीन जिन्दलमाथि एक शिक्षकले जुत्ता फाकेका थिए । यही  वर्ष भाजपा नेता लालकृष्ण आडवाणीमाथि पनि एक कार्यकर्ताले जुत्ता प्रहार गरेका थिए । 

सन् २००९ अप्रिलमा एक पत्रकारले पत्रकार सम्मेलन भइरहँदा तत्कालीन गृहमन्त्री पि चितम्बरममाथि जुत्ता प्रहार गरेका थिए । प्रहार भएको जुत्ता गृहमन्त्रीको छेउमै खसेको थियो । 

२००९ को अप्रिलमै एक र्यालीको दौरान तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहलाई लक्षित गरी जुत्ता देखाइएको थियो । 

सन् २०१० को ७ अगष्टमा पाकिस्तानी राष्ट्रपति आसिफ अलि जरदारीमाथि बर्मिघम यात्राको दौरान सरदार शमीम खान नामका एक ५० वर्षे व्यक्तिले एकजोडी जुत्ताले प्रहार गरेका थिए र उनले राष्ट्रपति जरदारीलाई सार्वजनिक रुपमै हत्यारा समेत भनेका थिए । 

सन् २०१० फेब्रुअरी ६ मा लण्डनमा पूर्व पाकिस्तानी राष्टपति परवेज मुसरफमाथि एक व्यक्तिले जुत्ता फ्याकेका थिए । 

यस्तै सन् २०१४ अगष्ट १५ को दिन लुधियानामा एक राजनीतिक सम्मेलन भइरहँदा पञ्जाबका मुख्यमन्त्री प्रकाशसिंह बादलमाथि एक बेरोजगार युवक  बिक्रम सिंहले जुत्ता देखाएर विरोध गरेका थिए । 
(बीबीसीको सहयोगमा)