काठमाण्डौ । विश्वको सबैभन्दा धनीव्यक्ति एलन मस्कले यो साता अदालतको चक्कर लगाउनुपर्नेछ। यसको कारण टेस्लामा उनको अर्बौं डलर प्याकेज हो। 

मस्क विद्युतीय कार बनाउने विश्वबै सबैभन्दा मूल्यवान अटो कम्पनीका सीईओ हुन्। २०१८ मा कम्पनीले उनलाई ५६ अर्ब डलरको प्याकेज दिएको थियो। जसका कारण मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन्। 

गत वर्ष नोभेम्बरमा मस्कको कुल सम्पत्ति ३३५ अर्ब डलर पुगेको थियो। तर अहिले उनको प्याकेज खतरामा परेको छ। मस्कको यो ठूलो प्याकेजलाई कम्पनीका सेयरधनीहरुले अदालतमा चुनौती दिएका छन्। 

यस हप्ता डेलावेयर अदालतमा यो मुद्दा सुनुवाइ हुनेछ। कर्पोरेट गभर्नेन्स विज्ञहरुका अनुसार यो मुद्दा महत्वपूर्ण छ किनकि कार्यकारीहरुलाई प्रस्ताव गरिएको ठूला प्याकेजहरुको बहस फेरि सुरु हुन सक्छ।

मस्कलाई सन् २०२८ मा टेस्लाले करिब ५६ अर्ब डलरको क्षतिपूर्ति प्याकेज दिएको थियो। सार्वजनिक कारोबार गर्ने कम्पनीले कसैलाई यति ठूलो प्याकेज दिएको यो पहिलोपटक हो। आज यसको कुल सम्पत्ति ५०.९ अर्ब डलरको छ।

मस्कलाई यो प्याकेज सेयरका रुपमा दिइएको हो। अर्थात् कम्पनीको सेयरमूल्य जति बढ्दै जान्छ, त्यति नै उनीहरुको प्याकेज पनि बढ्छ। 

मस्क टेस्लाका साथै स्पेसएक्सका सीईओ हुन्। हालै उनले सामाजिक सञ्जाल ट्विटर पनि किनेका छन्। 

टेस्लाले मार्च २०१८ मा मस्कको तलब प्याकेज स्वीकृत गरेको थियो। त्यसयता कम्पनीको सेयर १ हजार प्रतिशतभन्दा बढीले बढेको छ।

टेस्लाको निर्देशक बोर्डले मस्कको तलब प्याकेजलाई समर्थन गरेको छ। तर, सेयरधनीहरुले भने त्यसलाई अदालतमा चुनौती दिएका छन्। उनका वकिल, रिचर्ड जे. टोर्नेटाले दाबी गरे कि मस्कले टेस्ला र यसको निर्देशक बोर्डमा आफ्नो प्रभाव प्रयोग गरी ठूलो प्याकेज प्राप्त गर्यो ता कि उसले मंगल ग्रहलाई उपनिवेश बनाउने आफ्नो व्यक्तिगत महत्वाकांक्षा पूरा गर्न सकियोस्। कम्पनीमा मस्कको ठूलो सेयर रहेकाले यति ठूलो प्याकेज दिनु व्यर्थ भएको टोर्नेटाले बताए। 

मार्च २०१८ मा मस्क विश्वका धनीहरुको सूचीमा ४१ औँ स्थानमा थिए। तर, यसपछि कम्पनीको सेयरमा भएको उछालका आधारमा उनी विश्वकै सबैभन्दा धनी व्यक्ति बने।

यो ट्रायलसँगै कम्पनीका उच्च पदाधिकारीलाई दिइएको ठूलो प्याकेजको बहस फेरि सुरु हुन सक्छ। एस एन्ड पी ५०० मा समावेश गरिएका कम्पनीका सीईओहरुले २०२१ मा १८.३ अर्ब डलरको औसत प्याकेज प्राप्त गरेका छन्। यो कम्पनीको औसत तलबभन्दा ३२४ गुणा बढी हो। यो असन्तुलन पछिल्ला वर्षहरुमा तीव्र रुपमा बढेको छ। 

अमेजनका सीईओ एन्डी जसीले २०२१ मा २१.२७ करोड डलरको प्याकेज पाएका थिए। एप्पलका सीईओ टिम कुकले १० करोड डलर र माइक्रोसफ्टका सीईओ सत्य नडेलाले ५ करोड डलरको प्याकेज पाएका छन्। –एजेन्सी