काठमाण्डौ । अन्ततः आगामी जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन हुने भएको छ । 

सत्तारुढ गठबन्धनको शनिवार दोश्रोपटक बसेको बैठकले  आगामी जेठ महिनाभित्र सम्पन्न गर्ने गरी स्थानीय तहको निर्वाचन तोक्न सरकारलाई सुझाव दिने निर्णय गरेको हो । 

गठबन्धनले बैठकमा सहभागी प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामार्फत जेठ मसान्तभित्र निर्वाचन गर्ने गरी अगाडि बढ्न सुझाव दिएको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

उनकाअनुसार यो म्याण्डेड लिएर सरकारले निर्वाचन आयोगसँग आवश्यक छलफल गर्नेछ । आयोगको परामर्शमा एकदुई दिनमै स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरिनेछ । 

जेठ मसान्तभित्र स्थानीय निकायको निर्वाचनको मिति तोक्दा संविधानसँग बाझिएका कुनै ऐन अगाडि आए त्यसलाई संसोधन गरेर सरकारले निर्वाचनको आवश्यक तयारी अगाडि बढाउनुपर्ने सुझाव समेत गठबन्धन बैठकमा आएको कार्कीले जानकारी दिएका छन् । 

लामो समयदेखि स्थानीय निर्वाचनको मिति नतोकिँदा त्यसले राजनीतिक संकट मात्र बढाएको थिएन, सेयर बजारजस्ता लगानीका आकर्षक क्षेत्रमा सहभागीहरुमाझ पनि अन्यौल बढाएको थियो । स्थानीय निर्वाचन हुने भएपछि अब यसको सकारात्मक प्रभाव सेयर बजार लगायत लगानीका अन्य क्षेत्रमा समेत पर्ने अपेक्षा गरिएको छ । निर्वाचनको अनिश्चिततासँगै गत साता सुस्ताएको बजार भोलिबाट भने रकेटका गतिमा बढ्नसक्ने विज्ञहरुको आँकलन छ । 

निर्वाचनका लागि सरकारले निकै ठूलो बजेट खर्च गर्नुपर्छ । पछिल्लो समय सरकारले बजेट समयमै खर्च गर्न नसक्दा प्रणालीमै तरलता अभावको जटिल समस्या देखिएको छ । तरलताको समस्या हुँदा यसले सेयर बजारका लगानीकर्ताको मनोबल पनि लामो समयदेखि गिराएको थियो । तर, अब निर्वाचनको नाममा सरकारी ढुकुटीमा थन्किएका रकम बजारमा आउनेछ र यसले समग्र आर्थिक गतिविधि बढाएर तरलतामा सहज अवस्था ल्याउनेछ । बैंकिंग प्रणालीमा तरलता सहज भएपछि ब्याजदर घट्नेछ र यसले सेयर बजारलाई लाभैलाभ मात्र गर्ने विश्लेषकहरु बताउँछन् ।

(थप विश्लेषण केहीबेरमा)