काठमाण्डौ । सेयर बजारमा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको विकास गरिरहेको भेण्डर कम्पनी वाइको प्रालिले अधिकांश काम सकेको छ । 

कम्पनीले अधिकांश काम सकी नेप्सेलाई डेमो उपलब्ध गराएको छ र सोही आधारमा नेप्सेको आइटी विभागले आन्तरिक टेस्टिङको काम गरिरहेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताएका छन् । 

‘यद्यपि भेण्डर कम्पनीले सबै काम सकिइसकेको भने छैन ।’ उनले बिजशालासँग भने–‘उसले पूर्ण स्वचालित प्रणाली सबै काम पूरा गरी जेठभित्र दिने संभावना छ । त्यसपछि मात्र हाम्रोतर्फको कामले गति लिनेछ।’

हाल डेमो मात्र प्राप्त भएकोले त्यसमै आधारित रहेर पूर्व तयारीको काम भइरहेको समेत उनले खुलाए । ‘भेण्डर कम्पनीले काम सकेपछि हामीलाई त्यो प्रणाली ह्याण्डओभर गर्छ ।’ उनले भने–‘त्यसपछि फूल फेजमा टेस्टिङ गर्ने, डाटा ट्रान्सफर लगायतका अन्य काम तीव्र गतिमा अगाडि बढ्नेछन् ।’ 

उनले नयाँ आर्थिक वर्षको सुरुवातदेखि सकेसम्म पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीबाट कारोबार गर्न मिल्ने गरी कामलाई अगाडि बढाइएको समेत बताए । ‘जेठभित्र भेण्डर कम्पनीले हामीलाई सिस्टम दिएपछि त्यसमा हामीले धेरै काम गर्नुपर्छ ।’ उनले भने–‘फूल फेजको टेस्टिङ सफल भएपछि मात्र प्रणालीलाई कार्यान्वयनमा ल्याइनेछ ।’

साउदका अनुसार आर्थिक वर्षको सुरुवातअघि नै अनलाइन प्रणालीबाट कारोबार नै थालनी गर्ने संभावना छैन । 

उनले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीसँगै अहिलेको प्रणालीलाई समेत यथावत राखिनेछ । ‘केही निश्चित समयसम्म लगानीकर्ताका लागि पुरानो र नयाँ दुवै प्रणाली कार्यान्वयनमा रहनेछ ।’ उनले थपे–‘त्यसपछि एउटा निश्चित समयसीमा तोकेर सो मितिदेखि भने पूर्ण स्वचालित कारोबार प्रणालीलाई अनिवार्य गरिनेछ ।’