काठमाण्डौ । टेस्ला इंक तथा स्पेस एक्सका संस्थापक एलन मस्क विश्वकै धनी व्यक्ति बन्न सफल भएका छन्। 

एनल मस्कको कुल सम्पत्ति बिहीबारसम्म १८८.५ अर्ब डलर पुगेसँगे उनी विश्वकै धनी व्यक्ति बन्न सफल भएका हुन्। टेस्लाको सेयरमूल्यमा बिहीबार भएको तीव्रवृद्धिले एलन मस्क विश्वका धनाढ्यहरुको सूचीमा अग्रस्थानमा उक्लिएका हुन्। 

विश्वका धनाढ्यको सूचीमा गत बुधबारसम्म अग्रस्थानमा रहेका अमेजनका संस्थापक जेफ बेजोर दोस्रो नम्बरमा झरेका छन्। 

ब्लुमबर्ग बिलिनियर इन्डेक्सअनुसार गत बुधबारसम्म जेफ बेजोसको कुल सम्पत्ति १८४ अर्ब डलर थियो भने एलन मस्कको १८१.१ अर्ब डलर थियो। बेजोस सन् २०१७ को अक्टोबरदेखि विश्वकै धनी व्यक्तिका रुपमा रहेका थिए।

यो वर्ष एलन मस्कको कुल सम्पत्ति ६ गुणाले बढेको छ। एक वर्षअघि मस्कको कुल सम्पत्ति करिब ३० अर्ब डलर थियो। यो वर्षमात्रै उनको सम्पत्ति १५० अर्ब डलरभन्दा बढीले बढेको छ। सम्पत्ति बढोत्तरीमा यो ऐतिहासिक छलाङ पनि हो। – एजेन्सी