काठमाण्डौ । केही दिनदेखि जारी अबिरल बर्षाका कारण तराइका जिल्लामा आएको बाढीबाट पीडित बनेकाहरुको उद्धार तथा सहयोगमा लाग्न नेपाल जेसिजले आह्वान गरेको छ । 

कुल १३८ शाखाका ५ हजारभन्दा धेरै सदस्यहरु बाढीपीडितको सहयोग तथा उद्धारमा लागिसकेका जेसिजले जनाएको छ । उनीहरुले प्रकोपपीडितका लागि खाद्यान्न, कपडा, त्रिपाल र पिउने पानीको ब्यबस्था गरिरहेका बताइएको छ । 

जेसिजले कतिपय ठाउँमा  खाना पकाएर खुवाइरहेको जानकारी दिदैं नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारीले झापा, मोरङ, सुनसरी, टीकापुर, चितवन, हेटौंडा लगायतको क्षेत्रमा आफ्ना सदस्यहरु उद्धार कार्यमा लागिरहेको बताए । अधिकारीले काठमाडौंमा रहेको जेसिजका शाखा र बिभिन्न संघ संस्थाहरु सँग समन्वय गरेर राहात संकलन र बितरण शुरु गरिसकेको जानकारी दिए । 

नेपाल जेसिजबाट पाउने सुबिधाको रकमबाट बाढीपीडितका लागि खर्च गर्ने घोषणा गर्दै अध्यक्ष अधिकारीले  तनमनबाट बाढीपिडितको सहयोगमा लाग्न जेसिज सदस्यहरुलाई आग्रह गरे । उनले सर्वसाधारणमा समेत सकेसम्म सहयोग गर्न अपील गरेका छन् । 

नेपाल जेसिजले यसअघि भूूकम्पपीडितहरुलाई स्वःस्र्फूत संकलन भएको ३ करोड बराबरको सामानहरु उपलब्ध गराएको थियो ।