काठमाण्डौ । अमेरिकाको एक अदालतले बेबी प्रोडक्ट बनाउने चर्चित कम्पनी जोन्सन एण्ड जोन्सनलाई एक पीडित महिलालाई ४२ हजार ५ सय करोड रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ । 

यो ताजा आदेश एक महिलाको उजुरीमा आधारित छ, जो जोन्सन कम्पनीको पाउडर निरन्त प्रयोग गर्दै आएकी थिइन । यसअघि समेत अमेरिकी कम्पनीले यस्तै चार उजुरीको बिषयमा जोन्सन एण्ड जोन्सनलाई पीडक ठहर्याउँदै फैसला गरिसकेको छ । ती चारैवटा फैसलामा पाउडरकै कारण सम्बद्ध व्यक्तिलाई क्यान्सर भएको पुष्टि भएको भन्दै निकै ठूलो रकम क्षतिपूर्तिको रुपमा भराइसकिएको अन्तराष्टिय मिडियाहरुले जनाएका छन् । 

तर, पछिल्लो हर्जना अहिलेसम्मकै सबैभन्दा ठूलो रकम रहेको मिडियाहरुले जनाएका छन् । 
पाउडर प्रयोग गर्दा क्यान्सरको खतरा

क्यालिफोर्नियाकी एक महिला इवा इकवेरियाले लस एन्जल्सको अदालतमा कम्पनीविरुद्ध मुद्धा दायर गरेकी थिइन् । ती महिलाले कम्पनीको बेबी पाउडरको लगातार प्रयोगबाट उनलाई पाठेघरको क्यान्सर भएको जिकिर गरेकी छिन् । ती महिलाको अहिले उपचार भइरहेको छ । 

उनको अवस्था निकै नाजुक रहेको मिडिया रिपोर्टमा उल्लेख छ । महिलाको तर्फबाट बहस गर्ने वकिलले भनेका छन् कि जोन्सन एण्ड जोन्सन कम्पनीले हालसम्म बेबी पाउडरको प्रयोगबाट क्यान्सर समेत हुनसक्छ भन्ने तथ्यलाई ग्राहकबाट लुकायो र करोडौं ग्राहकलाई सो कम्पनीले गुमराहमा राख्यो । 

११ वर्षदेखि पाउडरको प्रयोग
इवाको उमेर ६७ वर्ष रहेको छ र उनमा क्यान्सर भएको तथ्य सन् २००७ मा पत्ता लागेको थियो । चार हप्तासम्म चलेको अदालती बहसको क्रममा उनी भिडियोमार्फत पत्रकारसामु पेश भएकी थिइन । जहाँ उनले आफूले ४० वर्षसम्म जोन्सन बेबी पाउडर प्रयोग गरेको बताइन । जब उनले यो पाउडर प्रयोग गर्न थालेकी थिइन्, तब उनको उमेर ११ वर्ष मात्र थियो । यदि यो उत्पादनमा क्यान्सर पनि हुनसक्छ भन्ने चेतावनी लेखिएको थियो भने आफूले धेरै अगाडि यो प्रोडक्ट प्रयोग गर्न छाडिदिइसकेको हुने उनले बताएकी छिन् । 

११ सय करोडको हर्जना
यसअघि भर्जिनियाकी एक महिलाको उजुरीका आधारमा सेन्ट लुुइसको अदालतले जोन्सन एण्ड जोन्सन कम्पनीलाई करिब ११ सय करोड रुपैयाँ हर्जना भर्न आदेश दिएको थियो । उनले समेत सन् २०१२ मा गर्भाशयको क्यान्सर पत्ता लागेको थियो । ती महिलाले समेत त्यसबेला आफूले ४० वर्षदेखि जोन्सनको बेबी पाउडर र शावर टु शावर पाउडर प्रयोग गर्दै आएको बताएकी थिइन् । त्यसबेला अदालतले आफ्नो फैसलामा ती महिलालाई क्यान्सर हुनुमा जोन्सन एण्ड जोन्सन कम्पनी ९९ प्रतिशत दोषी रहेको भनिएको छ । 

यसअघि समेत भएको थियो यस्तै घटना
यसअघि सन् २०१६ मा समेत एक अमेरिकी अदालतले जोन्सन पाउडरको प्रयोगबाट गर्भासयको क्यान्सर भई मृत्यु भएकी एक महिलाको परिवारलाई ७ सय ३४ करोड रुपैयाँ बराबरको क्षतिपूर्ति दिन आदेश दिएको थियो । सन् २०१६ को मई महिनामा समेत अर्की पाउडरकै निरन्तर प्रयोगबाट गर्भासयको क्यान्सरबाट पीडित अर्की एक महिलालाई समेत अदालतले ५ सय ६१ करोड क्षतिपूर्ति दिन जोन्सन एण्ड जोन्सन कम्पनीलाई आदेश दिएको थियो । 

२४०० उजुरी दायर
यी घटनाहरुपछि कम्पनीविरुद्ध उजुरीको थुप्रो लागेको छ । कम्पनीविरुद्ध मुद्धा दायर गर्नेहरुले तर्क गरेका छन् कि जोन्सन बेबी पाउडरको प्रयोगले क्यान्सर समेत हुन्छ भन्ने सन्देश दिन कम्पनीले भूल गर्यो, यो नै उसको जघन्य अपराध हो । अमेरिकाको सेन्ट लुुइस अदालतमा जोन्सन एण्ड जोन्सन कम्पनीविरुद्ध दायर २४०० मुद्धामा अहिलेसम्मकै सबैभन्दा धेरै क्षतिपूर्ति दिन भन्दै आएको यो आदेश नै पहिलो हो ।