काठमाण्डौ । ओम डेभलपमेन्ट बैंकसँगको प्राप्ति(मर्जर) भाँडिएपछि प्राइम कमर्सियल बैंक मर्जर पार्टनरको खोजीमा छ । सोही क्रममा केही साना संस्थालाई गाभ्ने निर्णयमा पुगेको यो बैंकले राष्ट्रिय स्तरको ज्योति विकास बैंकलाई समेत मर्ज गर्ने प्रयास गरेसँगै दोश्रो बजारमा ज्योतिको मूल्य बढ्यो ।

निकै राम्रो सेयर स्वाप अनुपातमा ज्योति र प्राइमबीच मर्जर हुँदैछ भन्ने हल्ला बजारमा फैलिएपछि मंगलबार ज्योति विकास बैंकको सेयर मूल्यमा पोजिटिभ सर्किट नै लाग्यो । तर, हल्लाको भरमा ज्योतिको सेयर किन्नेहरु अन्ततः हिस्स हुनुपर्ने अवस्था सिर्जना हुने देखिएको छ । 

अर्थात, प्राइम कमर्सियल बैंक र ज्योतिबीच मर्जर हुने हल्ला, हल्लामै सीमित बन्नेछ । कारण, यी दुई बैंकबीच संभावित मर्जरको छलफल निश्कर्षविहीन बन्न पुगेको स्रोतहरुले जनाएका छन् । 

ज्योति र प्राइम बैंकस्थित उच्च स्रोतहरुका अनुसार मर्जरका लागि यी दुई बैंकबीच केही चरणको छलफल भए पनि ज्योतिले माग गरेको सेयर स्वाप अनुपातमा कुरा नमिल्दा छलफल निश्कर्षविहीन बन्न पुगेको हो । 

‘हामी मर्जर पार्टनरको खोजीमा छौ, यो क्रममा एकदर्जन बढी बैंक तथा बित्तीय संस्थासँग कुराकानी भएको हो ।’ प्राइम बैंकका एक संचालकले बिजशालासँग भने–‘ज्योतिसँग केही सिरियस कुरा भएको हो, तर उहाँहरुले अस्वभाविक सेयर अनुपातको माग गरेपछि हामी पछाडि हटेका हौ ।’ 

ती संचालकका अनुसार ज्योति विकास बैंकले प्राइम कमर्सियल बैंकसँग १ बराबर १ को अनुपातमा मात्र मर्जमा जान सकिने अड्डी कसेको थियो । ज्योति यो माग अस्वभाविक भएको भन्दै प्राइमका अधिकांश संचालकहरु छलफलबाटै पछि हटेका थिए । 

प्राइम बैंकका संचालकहरुले ज्योतिलाई १००: ७५ सम्मको सेयर स्वाप रेसियोमा अगाडि बढ्न सकिने जनाउ दिएका थिए । तर, ज्योतिले प्राइमको यो प्रस्ताव अस्वीकार गरेको बताइएको छ । 

ज्योतिस्थित उच्च स्रोतका अनुसार यो बैंक कुनै बैंकमा बिलय हुने वा मर्जर हुने भन्दा पनि आफैं पूँजीको आकार बढाउने र बलियो बन्ने योजनामा छ। यसकारण समेत यो बैंकको तर्फबाट सुन्दै अस्वभाविक लाग्ने सेयर स्वाप अनुपात माग गरिएको हुनसक्ने बताइन्छ । 

ज्योति विकास बैंकसँग मर्जरका लागि केही चरणको छलफल निश्कर्षविहीन बनेसँगै प्राइम कमर्सियल बैंक केही साना संस्थालाई अक्वायर गर्ने निश्कर्षमा पुगेको छ । यो बैंकले कन्काई विकास बैंक, रिलायन्स फाइनान्स र ललितपुर फाइनान्सलाई अक्वायर गर्नेछ । यसको औपचारिक सम्झौता केही दिनभित्रै हुने बैंकस्थित स्रोतको दाबी छ ।