काठमाण्डौ । हालै आइपीओ निश्कासन गरी बाँडफाँड समेत गरिसकेको ज्योति लाइफ इन्स्योरेन्सको सेयर दोश्रो बजारमा बुधबार सूचीकरण हुने संभावना देखिएको छ । 

नेप्सेस्थित उच्च स्रोतका अनुसार ज्योति लाइफको सेयर सूचीकरणका लागि फाइल प्राप्त भइसकेको छ । त्यसलाई हेरेर आजभोलि नै सेयर सूचीकरण हुने अवस्था भए पनि नेप्से प्रमुख चन्द्रसिंह साउद काठमाण्डौभन्दा बाहिर रहेकोले संभवत बुधबारसम्म ज्योति लाइफको सेयर सूचीकरणको सम्झौता हुनसक्ने बताइएको छ । साउद आइतबार र सोमबार सुदुरपश्चिमको एक कार्यक्रममा गएका छन् । उनी मंगलबारदेखि अफिस आउने र त्यसपछि ज्योति लाइफसँग सूचीकरणको सम्झौता हुनेछ । 

यो कम्पनीको सुरुवाती कारोबारका लागि नेप्सेले रु. १२०.२९ देखि रु. ३६०.८७ सम्मको रेञ्ज तोकेको छ । जेएलआई संकेतबाट कारोबार हुने यो कम्पनीको २ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचीकरण हुनेछ। 

यो कम्पनीले गत फागुन २१ गतेदेखि १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुका लागि सुरक्षित गरिएको छ। बाँकी ५९ लाख ४० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको छ। 

ज्योति लाइफको आईपीओमा कुल १८ लाख ४२ हजार ४८० आवेदकबाट ३ करोड ८४ लाख ८६ हजार २० कित्ताका लागि आवेदन परेको थियो। तीमध्ये १७ लाख ९७ हजार ८३५ आवेदकबाट माग भएको ३ करोड ५८ लाख ९९ हजार ३६० कित्तामात्र सदर भएको थियो। कुल आवेदनमध्ये ४१ हजार ७०३ आवेदकबाट माग भएको २५ लाख २८ हजार ६५० कित्ता बदर भएको थियो। त्यस्तै शंकास्पद ३१ हजार ५०५ आवेदकबाट परेको ६ लाख ४१ हजार ४७० कित्ता तथा अयोग्य २ हजार ९४२ आवेदक परेको ५८ हजार १० कित्ता पनि बदर भएको थियो। 

यो आईपीओमा गोलाप्रथाबाट ५ लाख ९४ हजार आवेदकले १० कित्ताका दरले ५९ लाख ४० हजार कित्ता सेयर पाएका छन्।