काठमाण्डौ । ज्योति विकास बैंकको १ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्रमा आज असार २० गतेबाट आवेदन खुला गरिएको छ।

बैंकले १ हजार अंकित दरका कुल १५ लाख इकाइ भएको ‘ज्योति विकास बैंक बन्ड–२०८७’ नामक ऋणपत्र निष्कासन गरेको हो। यो ऋणपत्रको कुल इकाइमध्ये ९ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ६ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको छ। 

सर्वसाधारणका लागि निष्कासन गरिएको कुल ६ लाख इकाइमध्ये पनि ५ प्रतिशतले हुने ३० हजार इकाइ सामूहिक कोषहरुका लागि छुट्याइएको छ। बाँकी ५ लाख ७० हजार इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतममा ३० हजार इकाइसम्म खरिदका लागि आवेदन दिन सक्नेछन्। यो ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुमार्फत आवेदन दिन सकिनेछ। 

ऋणपत्रको निष्कासन बन्द छिटोमा असार २३ गते र ढिलोमा साउन ३ गते बैंकिङ समयपछि गरिनेछ। ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ। 

१० वर्षे यो ऋणपत्रलाई नेपाल धितोपत्र बोर्डले गत जेठ २७ गते निष्कासन अनुमति दिएको थियो। यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन्। ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ।