काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा आह्वान गरेको छ। 

कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा पोखराको लेकसाइडस्थित वाटरफ्रन्ट रिसोर्टमा बिहान ११ बजेबाट हुनेछ।

सभाले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित कुल १०.५२६३ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश छन्।

सभाले बोनस सेयर जारीपछि चुक्तापुँजी २ अर्ब ४२ करोड पुग्ने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक सेयरधनी समूहबाट ४ जना र सर्वसाधारण सेयरधनी समूहबाट २ जनाको चयन गर्नेछ। 

सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावहरुले छलफल गरी पारित गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही माघ २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ २३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।