काठमाण्डौ । पछिल्लो समयमा स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्यामा वृद्धि हुँदै गएको पाइएको छ। 

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म कूल ४० लाख ४३ हजार ७९४ ले प्यान लिएका छन्। प्यान लिनेको संख्या बढ्दै जाँदा ढुक्कले कमाउने र कानूनअनुसार लाग्ने कर तिर्ने संख्यामा बढोत्तरी भएको देखिन्छ।

मन्त्रालयका अनुसार सो अवधिमा दर्ता भएका कूल करदातामध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता १५ लाख ९३ हजार ७४ पुगेका छन्। 

यस्तै व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता २४ लाख ४१ हजार ५८६ रहेका छन् । करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर ९ हजार १३४ पुगेको छ। 

मन्त्रालयका अनुसार मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका करदाताको संख्या २ लाख ८८ हजार ७०८ पुगेको छ। 

उता अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख ११ हजार ४९१ पुगेको छ।

-RSS